पत्रकार सुरेश रजकको हत्या विरुद्ध मोरङमा पत्रकारहरूको विरोध प्रदर्शन

बिराटनगर/पत्रकार सुरेश रजकको हत्या र आमसञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा मोरङका पत्रकारहरू आन्दोलित भएका छन्। शुक्रबार, राजावादीहरूको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकमाथि आक्रमण भएको थियो। रजकले समाचार संकलनका लागि भिडियो खिचिरहेको बेला प्रदर्शनकारीहरूले घरमा आगो लगाएका थिए, जसमा उनको जलेर मृत्यु भयो।

यही घटनाको विरोधमा शनिबार बिहान नेपाल पत्रकार महासंघ मोरङ शाखाले विराटनगरमा विरोध प्रदर्शन गरेको छ। महासंघको कार्यालयबाट सुरु भएको विरोध र्‍याली ट्राफिक चोक, महेन्द्र चोक र सनिमन्दिर हुँदै जलजला मोड पुगेर पुनः ट्राफिक चोकमा कोण सभामा परिणत भएको थियो।

कोण सभामा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल र मोरङ शाखा अध्यक्ष सुशिला पाठकले पत्रकार रजकको हत्यामा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे।
आज नेपाल पत्रकार महासंघको स्थापना दिवस पनि हो। तर पत्रकार र मिडियामाथि भएको आक्रमणका कारण महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी विरोध प्रदर्शनमा उत्रिएको हो। केन्द्रीय सदस्य रिमालका अनुसार, आज बस्ने पत्रकार महासंघको बैठकले आगामी विरोध कार्यक्रमहरूको बारेमा थप निर्णय गर्नेछ।

पत्रकारहरूले रजकको हत्याको निन्दा गर्दै प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारको सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *