विराटनगरमा सम्पन्न रासलीला कार्यक्रममा १ लाख ५० हजार रुपैयाँ बचत
विराटनगर/ श्रीहरि सत्संग समिति नेपालद्वारा विराटनगरमा आयोजित रासलीला कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमबाट ११ लाख ६५ हजार रुपैयाँ आम्दानी भएको र १० लाख १५ हजार रुपैयाँ खर्च भई १ लाख ५० हजार रुपैयाँ बचत गरिएको आयोजकले जनाएको छ।
समितिका अध्यक्ष भिखमचन्द सरल का अनुसार रासलीला कार्यक्रमबाट बचत हुने १० लाख रुपैयाँबाट रथ किन्ने योजना थियो, तर लक्ष्यमा पुग्न नसकिएको उनले बताए। तथापि, एक जना भक्तजनले सनातन धर्म प्रचार–प्रसारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन्।
चैत ५ देखि १० गतेसम्म चलेको उक्त रासलीला कार्यक्रममा भारतको वृन्दावनबाट आएका २१ जना कलाकारहरूले भगवान् श्री राधाकृष्णको जीवनशैलीमा आधारित रासलीला मञ्चन गरेका थिए। १२ हजारभन्दा बढी भक्तजनहरू सहभागी भएको यस ऐतिहासिक कार्यक्रमको संयोजकत्व कोशी प्रदेशका उपाध्यक्ष तथा समाजसेवी महेशकुमार साह स्वर्णकार र सह-संयोजक उद्योगी घनश्याम काबरा ले गरेका थिए।
कार्यक्रम सम्पन्न भएपछि बिहीबार बसेको बैठकमा समितिले आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ। साथै, कार्य सम्पादन समितिका ४१ जना पदाधिकारीलाई सम्मान गरिएको छ। सम्मान कार्यक्रमका प्रमुख अतिथि समितिका केन्द्रीय अध्यक्ष भिखमचन्द सरल रहेका थिए भने महासचिव रामजीवन अग्रवाल, कोषाध्यक्ष भवानी बोहरा, प्रदेश अध्यक्ष विद्यानन्द माझी लगायतका पदाधिकारीहरूले सम्मानपत्र वितरण गरेका थिए।
समितिले आगामी दिनमा पनि यस प्रकारका धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।