सिनेमा ‘वसन्त’को नयाँ गीत ‘हेर्दै आँखामा’ आइतबार रिलिज हुँदै
विराटनगर/ चैत्र २२ गते शुक्रबारबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउन लागेको सिनेमा ‘वसन्त’ को नयाँ गीत ‘हेर्दै आँखामा’ आइतबार सार्वजनिक हुने भएको छ। भारतको गोवा र रसुवाको लाङटाङमा छायांकन गरिएको यस गीतमा अभिनेता प्रकाश सपुत र स्वस्तिमा खड्का लाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।
यसअघि सार्वजनिक सिनेमाका प्रचार सामग्रीहरू गीत, संगीत, टिजर र ट्रेलर ले दर्शकमाझ उच्च हाइप निर्माण गरिसकेको छ। यस कारण ‘वसन्त’ यस वर्षकै प्रतिक्षित सिनेमाको सूचीमा परेको छ। आइतबार रिलिज हुने ‘हेर्दै आँखामा’ गीतमा गायक सुगम पोखरेल र गायिका समीक्षा अधिकारी को स्वर रहेको छ। निर्देशकसमेत रहेका प्रकाश सपुत को शब्द रचना तथा संगीत रहेको गीतमा योगेश काजी शाह को संगीत संयोजन छ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको ‘वसन्त’ एक सोसल ड्रामा सिनेमा हो, जसमा विपन्न विश्वकर्मा समुदायको छोराले लेखक बन्ने आफ्नो सपना पूरा गर्न गरेको संघर्षको कथा चित्रण गरिएको छ। सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
सिनेमाको कथा, पटकथा र संगीत पनि निर्देशक प्रकाश सपुतले नै तयार पारेका छन्। सिनेमाका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्माता अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ रहेका छन्।
गायक तथा निर्देशक प्रकाश सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो। सिनेमाको छायांकन सुसन प्रजापति ले गरेका छन्। काठमाडौं उपत्यकामा डिसिएन तथा मोफसलमा एफडी कम्पनी ले सिनेमालाई वितरण गर्नेछ।