टि–२० क्रिकेट प्रतियोगिता सुरु ,उद्घाटनमा उदयपुरको विजय सुरुवात 

विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा इलामलाई हराउँदै उदयपुर जिल्ला विजय भएको छ ।

विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा इलामलाई २९ रनले पराजित गर्र्दै उदयपुर विजयी भएको हो । जितसँगै उदयपुरले दुई अंक जोडेको छ ।

उदयपुरले दिएको ८६ रनको विजय लक्ष्य पछ्याएको इलामले १५ दशमलप २ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो । इलामका श्याम यादवले २४ बलमा १४ रन बनाए । इलामका अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन ।

उदयपुरका तेज आचार्यले ४ ओभरमा ११ रन खर्चेर तीन विकेट लिए । सुशान्त तिम्सिनाले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच उदयपुरका तेज आचार्य घोषित भए । उनले नगद २ हजार पाँच सय पाए ।

यसअघि टस हारेर ब्याटिङ थालेकोे उदयपुरले १९ ओभरमा सबै विकेट गुमाइ ८५ रन बनाएको थियो । उदयपुरका प्रभात किरण राईले सर्वाधित २२ रन बनाए । १९ बलमा उनले तीन चौका प्रहार गरे । निर्देश बस्नेतले २८ बलमा १५ रन पारी खेल्दा रिन्जन तिवारीले १६ बलमा १० रनको योगदान दिए । अरु ब्याटरले दोहोरो अंक बनाउन सकेनन ।

इलामका लभ कामतले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा ९ रन खर्चिए । प्रजवल खत्रीले ४ ओभरमा १३ रन खर्चिएर ३ विकेट लिए ।

मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा भएको प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ । बुधबार दुई खेल हुनेछ । पहिलो खेल मोरङ र उदयपुर जिल्ला हुनेछ । सोही दिन हुने दोस्रो खेल आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी र सुनसरीबीच हुने क्लबकी सचिव शान्ता जोशीले जानकारी दिइन् ।

कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण) ले गरे ।

चैत १६ गतेसम्म हुने प्रतियोगिताको विजेता हुने टिमलाई नगद १ लाख १ हजार रुपैयाँ र उपविजेता टिमलाई ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्यान अफ द श्रीरिज हुने खेलाडीलाई १५ हजार, बेस्ट ब्याटमेन बेस्ट बलरलाई जनही ११ हजार पुरस्कार रहेकोछ । दैनिक हुने खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद २ हजार पाँच सय रुपैयाँ छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *