२५ दिनदेखि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगमा ताला

विराटनगर। पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग कार्यालयमा २५ दिनअघि लगाइएको ताला अझै खुलाइएको छैन। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका विद्यार्थीले गत फागुन १७ गते ताला लगाएका थिए।

उपप्राध्यापक पदमा बढुवाका लागि निकालेको विज्ञापन गैरकानुनी भएको दाबी गर्दै नेविसंघले आयोगको कार्यालयमा ताला लगाएको हो।

चैत २१ पछि अवकासमा जान लागेका आयोगका अध्यक्ष महेशप्रसाद दाहालले त्यसअघि कर्मचारी र शिक्षक बढुवा गर्न खोजेका थिए। आयोगका अधिकांश कर्मचारीको बढुवा भइसकेको छ। उपप्राध्यापक बढुवाका लागि फागुन १८ गते अन्तरवार्ताको मिति तोकिएको थियो। तालाबन्दीपछि उक्त प्रक्रिया अवरुद्ध बनेको छ।

नेविसंघका केन्द्रीय सदस्य अभिषेक भट्टराईका अनुसार नयाँ कार्यविधि बनेपनि पुरानै कार्यविधि अनुसार बढुवा सूचना निकालिएपछि त्यसको विरोधमा ताला लगाइएको हो।

पूर्वाञ्चल विश्वविद्यालय ऐन २०५० अनुसार सञ्चालन हुन्छ। त्यही ऐनका आधारमा पूर्वाञ्चल विश्वविद्यालय नियमावली २०५३ जारी भएको छ। विश्वविद्यालयको ३५औ सभाले नियमावलीलाई संशोधन गरेको थियो।

संशोधित नियमावलीअनुरुप शिक्षक छनौट गर्नु पर्ने भएपनि आयोगले पुरानै नियमावलीका आधारमा प्रक्रिया अघि बढाएको नेविसंघको दाबी छ। उपप्राध्यापकको विज्ञापन गैरकानुनी विज्ञापन सच्याउनुपर्ने विद्यार्थीको माग छ।

संशोधित नियमावलीमा उपप्राध्यापक पद सबै विज्ञापन खुला गर्नुपर्ने उल्लेख भए पनि आयोगको विज्ञापनमा आन्तरिक प्रतियोगिता अन्तर्गत राखिएकाले गैरकानुनी भएको भट्टराईको भनाइ छ।

ताला लगाउनुअघि नेविसंघले संशोधित नियमावली अनुसार प्रक्रिया अघि बढाउन आग्रह गर्दै आयोगको ध्यानाकर्षण गराएको थियो। आयोगले बेवास्ता गरेकाले ताला लगाउनु परेको नेविसंघको भनाइ छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *