टि–२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि ,उद्घाटनमा इलाम र उदयपुर भिड्दै
विराटनगर । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरू हुने भएको छ । विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ ।
कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्त जोशीले जानकारी दिइन् । चैत १६ गतेसम्म हुने प्रतियोगितामा ६ जिल्लाका क्यानमा आवद्ध खेलाडीहरुले भाग लिएका छन् । जसमा सुनसरी, झापा, आयोजक मिल्स क्रिकेट क्लब एण्ड एकाडेमी, मोरङ, इलाम र उदयपुर रहेको छ । उद्घाटन खेल इलाम र उदयपुर जिल्लाबीच हुनेछ । लिगको आधारमा यो प्रतियोगिता हुनेछ । क्यानसँग आवद्ध भएका ६ जिल्लालाई समेटिएको मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीका अध्यक्ष मुररी चौधरीले बताए । प्रतियोगितामा विजेता हुने टिमलाई नगद १ लाख १ हजार रुपैयाँ र उपविजेता टिमलाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एकेडेमीकी सचिव जोशीले बताइन् । म्यान अफ द श्रीरिज हुने खेलाडीलाई १५ हजार, बेस्ट ब्याटमेन बेस्ट बलरलाई जनही ११ हजार पुरस्कार रहेकोछ । दैनिक हुने खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद २ हजार पाँच सय रुपैयाँ छ ।
यस प्रतियोगिताले कोशी प्रदेशको क्रिकेट क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका खेल्ने सचिव जोशीको भनाई छ । ‘कोशी प्रदेशमा लुकेर रहेका क्रिकेट प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र नयाँ खेलाडीहरु उत्पादन गर्न हामीले यो प्रतियोगिता गरिएको हो,’ उनले भनिन्, ‘भव्य र सभ्य तरिकाले हुने क्रिकेट प्रतियोगिता हेर्न आउन सम्पूर्णलाई आग्रह गर्दछु ।’