झापा, मोरङ र उदयपुरबाट प्रतिबन्धित लागुऔषधसहित ४ जना पक्राउ
विराटनगर/ झापा, मोरङ र उदयपुरबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। चैत १० गते विभिन्न स्थानमा गरिएको प्रहरी कारबाहीमा ब्राउनसुगर, गाँजा र अन्य प्रतिबन्धित औषधिसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले झापा गौरिगञ्ज गाउँपालिका-१, भन्सार चोकमा भारतको किशनगंज-२ का २३ वर्षीय सलमलाई पक्राउ गरेको हो। उनको साथबाट ४ ग्राम ५५ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ।
त्यस्तै, मोरङमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर महानगरपालिका-१५ बाट मोरङ केराबारी गाउँपालिका-७ का २३ वर्षीय सनम राई र २७ वर्षीय रुपेश तामाङलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २ ग्राम ४७ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले त्रियुगा नगरपालिका-१, खैजनपुरका २२ वर्षीय सन्तोष चौधरीलाई ७ एम्पुल प्रतिबन्धित औषधि र २५ ग्राम गाँजासहित नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको छ।