सिनेमाघरमा ‘अञ्जिला’ को माहोल, दोस्रो शनिवार दर्शकको जनसागर
सिनेमाघरमा ‘अञ्जिला’ को माहोल, दोस्रो शनिवार दर्शकको जनसागर
काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित सिनेमा ‘अञ्जिला’ हेर्न दोस्रो शनिवार दर्शकको जनसागर उर्लिएको छ। निर्देशक मिलन चाम्सका अनुसार पहिलो शनिवारको तुलनामा दोस्रो शनिवार सिनेमाले झन्डै दोब्बर व्यापार गरेको छ।
देशभरका हलहरूमा दर्शकहरूको उत्साहजनक सहभागिता देखिँदा ‘अञ्जिला’ प्रति दर्शकको रुचि दिनानुदिन बढिरहेको स्पष्ट भएको छ। काठमाडौंको अष्टनारायण हलमा एक हजार सिट क्षमताको हल दिनभर हाउसफुल भएको थियो, भने देशभरका अधिकांश शोहरू भरिभराउ भएका छन्। पहिलो दिन १०५ शो प्राप्त गरेको सिनेमाले दोस्रो हप्ताको शनिवार २०० भन्दा धेरै शो हासिल गरेको छ।
शनिवार निर्देशक चाम्स, निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल, एन्जिलाकी आमाको भूमिकामा अभिनय गर्दै प्रशंसा कमाएकी सिर्जना सुब्बा लगायतको टोलीले काठमाडौंका विभिन्न हलमा दर्शकसँग साक्षात्कार गरेका थिए।
सिनेमाको सफलता देखेर उत्साहित निर्देशक चाम्सले भने, “मेरो निर्देशन यात्रामा यति धेरै खुसी कहिल्यै भएको थिएन। ‘अञ्जिला’लाई दर्शकहरूले यति धेरै माया गर्नुहुन्छ भन्ने कल्पना गरेको थिइनँ। पहिलो दिनदेखि नै राम्रो प्रतिक्रिया पाइरहे पनि दोस्रो हप्ताको शनिवार बम्पर व्यापारले थप उर्जा दिएको छ। यो सिनेमा दर्शकलाई प्रेरित गरिरहेको देख्दा हाम्रो टिमको मेहनत सार्थक भएको महसुस भइरहेको छ।”
टिकटक, फेसबुक, युट्युब लगायत सामाजिक सञ्जालहरूमा पनि ‘अञ्जिला’को चर्चा व्यापक छ, जसले सिनेमाको लोकप्रियता अझै बढाइरहेको छ। नेपाली सिनेमा उद्योगमा ‘अञ्जिला’ ले नयाँ कीर्तिमान स्थापित गर्ने सम्भावना देखिएको छ।
सिनेमामा एन्जिला तुम्बापो सुब्बाले आफैं शीर्ष भूमिका निर्वाह गरेकी छन्। निर्माता प्रेमकुमार श्रेष्ठले सिनेमामा ‘गड फादर’को भूमिका पनि निर्वाह गरेका छन्। माओत्से गुरुङ र दयाहाङ राईले एन्जिलाका बुबाको भूमिका निभाएका छन् भने सिर्जना सुब्बाले आमाको भूमिका निर्वाह गरेकी छन्। अन्य कलाकारहरूमा सुमिन गुरुङ, सुनिल थापा (कोचको भूमिकामा), बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।
सिनेमाको सफलतासँगै दर्शकहरूको लहर रोकिने सम्भावना नदेखिएको निर्देशक चाम्स बताउँछन्। ‘अञ्जिला’ ले नेपाली फुटबल र महिला सशक्तीकरणको कथालाई बलियो तरिकाले प्रस्तुत गरेको भन्दै दर्शकहरूले खुलेर तारिफ गरिरहेका छन्।