उमेशले जिते धर्मश्रीको उपाधि

विराटनगर/ गोर्खाली फिटनेसका उमेश राईले १७औं संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। काठमाडौंमा भएको प्रतियोगिताको ओभरअलतर्फ राईले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन्।

उपाधि जितेसँगै उनले नगद १२ लाख तथा ११ किलोग्राम वजनको ट्रफीसहित मेडल, प्रमाणपत्र, चीन घुम्ने अवसर र अन्य उपहार प्राप्त गरे । उनी १६ औं संस्करणका पनि विजेता हुन्। उपविजेता भएबापत धिमालले नगद ६ लाख हात पारे। तृतीय स्थानमा रहेका दाङका माधव सुवेदीले नगद ३ लाख प्राप्त गरे। धर्मश्रीमा २ पटक उपाधि चुम्ने राई तेस्रो खेलाडी हुन्। यसअघि नरेश महर्जन र सानु गुरुङले २ पटक उपाधि जितेका थिए।

नेपालमा व्यायाम क्षेत्रको जननी संस्था नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा राई ८० केजी माथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउन्डमा प्रवेश गरेका थिए।

त्यस्तै, ललित धिमालले ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधिको ओभर अल राउन्डमा प्रवेश पाएका थिए। ६ तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहका विजेता खेलाडीहरूले अन्तिम चरणमा धर्मश्रीका उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

उपाधि भिडन्तको चौथो स्थानमा मसल्स एण्ड फिटनेसका असिमबाबु गुरुङ रहे। उनले नगद २ लाख प्राप्त गरे। प्लाटिनियमका विनोद सुनुवार पाँचौ स्थानमा रहे। उनले नगद १ लाख ८० हजार प्राप्त गरे। छैटौँ स्थानमा रहेका नर्भ द फिटनेसका सिद्धान्त जसरोटियाले नगद ५० हजार प्राप्त गरे।

तौल समूहअन्तर्गत भएको प्रतिस्पर्धामा ६० केजी तौल समूहमा नर्भ द फिटनेस स्टेसनका सिद्धान्त जसरोटियाले प्रथम स्थान हात पार्दै ओभरअलमा छनौट हुन सफल भए। दोस्रो स्थानमा मेटल फिटनेस कागेश्वरीका किसन दास दिवाकर तथा तेस्रो स्थानमा बी एन्ड एल फिटनेस स्टेसनका धर्मराज खापुङ रहे।

त्यसैगरी, ६५ केजीको प्रथम स्थानमा मिस्का फिटनेस क्लबका माधव सुवेदी, दोस्रोमा डेयर टु फिट जिमका अजय मलिक, तेस्रोमा नेपाल व्यायाम मन्दिरका क्षितिज थापा भए। ७० केजीमा प्रथम मसल एन्ड फिटनेसका असिमबाबु गरुङ, दोस्रो स्थानमा नेपाल व्यायाम मन्दिरका आशिष देवा, तेस्रोमा यु.आर फिटनेसक उपेश सापकोट भए।

७५ केजी तौलको प्रथम प्लाटिनिम फिटनेसका विनोद सुनार, दोस्रोमा चितवन फिजिकल फिटनेसका मरिचमान लामा, तेस्रोमा नेपाल व्यायाम मन्दिरका मनोज श्रेष्ठ भए। त्यस्तै, ८० केजी तौल समूहमा ग्यालेक्सी फिटनेश सेन्टरका ललित धिमालले व्यायाम मन्दिरका सञ्जीव श्रेष्ठलाई पछि पार्दै ओभरअलमा स्थान पक्का गरे। सञ्जीवले यस खेल पश्चात सन्यासको घोषणा गरे। तेस्रो व्यायाम मन्दिरकै आदित्य ठाकुर भए।

८० केजीमाथिको तौलमा प्रथम उमेश राई धर्मश्रीको उपाधिका लागि छनोट हुँदा दोस्रो व्यायाम मन्दिरका गेरस महर्जन र तेस्रो व्यायाम मन्दिरका सुवास श्रेष्ठ भए। तौल समूहमा दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १५ हजार नगदसहित मेडल र ट्रफी प्राप्त गरे।

त्यस्तै, महिला बडी बिल्डिङ खुलातर्फ प्रथम भक्तपुर डिस्पिराडोकी तारा खाइजु, दोस्रो कम्प्लिट हेल्थ क्लबकी शान्ता पालिखे र तेस्रो डिभाइन फिजिकल फिटनेसकी उर्मिला श्रेष्ठ भइन्। मास्टर्स खुलातर्फ नेपाल व्यायाम मन्दिरका किशोर शाही प्रथम, काठमाडौं जिमका राजकुमार शाही दोस्रो र नेपाल व्यायाम मन्दिरकै कृष्णसिंह शाही तेस्रो भए।

पुरुष स्पोट्र्स फिजिक १७० मूनिको समूहमा पावर फिजिकल फिटनेसका आकाश श्रेष्ठले प्रथम, एनवाइएफसीका निरल थापा दोस्रो र त्रिभुवन आर्मी क्लबका रमेश फोम्बो तेस्रो भए। यस्तै, १७० सेमी माथिको समूहमा गोल्ड्स जिमका रमन तुलाधरले प्रथम, आरएनएफसीका नुरबहादुर कुँवर दोस्रो र नेपाल व्यायाम मन्दिरका शिभकुमार सिंह तेस्रो भए।

यसैगरी, पीएल सिंह मेन्स एथ्लेटिक फिजिक ओभर र अन्डर तथा वोमेन्स बडिबिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार, पाँचौले ४० हजार तथा छैटौंले ३० हजार प्राप्त गरे।

५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले १ लाख, दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार र छैटौंले १० हजार पाए। खेलाडीहरुलाई काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साहलगायतले पुरस्कार प्रदान गरे।

Add a Comment

Your email address will not be published. Required fields are marked *