भद्रपुर नाकाबाट ब्राउनसुगर भित्र्याउने युवक पक्राउ

भद्रपुर / झापाको भद्रपुर नाकाबाट ठूलो मात्रामा लागूऔषध ब्राउनसुगर भित्र्याउने क्रममा सशस्त्र प्रहरी बल नेपालले एक युवकलाई पक्राउ गरेको छ।

बिहीबार दिउँसो ३:४० बजे, सशस्त्र प्रहरीको सीमा सुरक्षा टोलीले भद्रपुर नगरपालिका-४, डाँगीबारी क्षेत्रबाट २१ वर्षीय सुन्दर सिवालाई नियन्त्रणमा लिएको हो। उनी तेह्रथुमको आठराई गाउँपालिका-५ निवासी हुन् र हाल झापा कनकाई नगरपालिका-५, दुर्गापुरमा बसोबास गर्दै आएका थिए।

भारतबाट नेपालतर्फ पैदल आइरहेका सिवालाई शङ्काका आधारमा जाँच गर्दा सुगरफ्री बिस्कुटको प्याकेटभित्र लुकाइएका तीन पोका ब्राउनसुगर फेला परेको थियो। लागूऔषधसहित ३ हजार ५३० रुपैयाँ नगद, एउटा मोबाइल र अन्य सामग्री पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सिवालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको डीएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए। प्रहरीका अनुसार उनीमाथि लागूऔषध ओसारपसारसम्बन्धी कानुनी कारबाही अघि बढाइनेछ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *