कैलालीको सिमली जंगलमा बसेका १०० भन्दा बढी विदेशीलाई २४ घण्टाभित्र क्षेत्र खाली गर्न प्रशासनको आदेश

कैलाली /कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा अनुमति बिना बसेका १०० भन्दा बढी विदेशी नागरिकलाई प्रशासनले २४ घण्टाभित्र क्षेत्र खाली गर्न आदेश दिएको छ। भारत, अमेरिका, चीनलगायत विभिन्न देशका नागरिक ‘रेन्बो फेमिली ग्यादरिङ’ समूहको रूपमा करीब एक हप्ता अघि जंगल क्षेत्रमा पुगेका थिए।

सरकारी अनुमति बिना वन क्षेत्रमा अस्वाभाविक गतिविधि गरिरहेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित सुरक्षा निकायले बिहीबार उक्त क्षेत्रको अवलोकन गरेको थियो। विदेशी नागरिकहरूले आफूहरू ‘नेचर लभर’ अर्थात् प्रकृतिमा रमाउने व्यक्ति भएको दाबी गरे पनि, अनुमति बिना बस्नु कानुनी रूपमा अवैध भएकाले प्रशासनले आवश्यक कदम चालेको हो।

यसैबीच, सोही विषयमा खबर संकलन गरिरहेका पत्रकार प्रकाश मिश्रमाथि आक्रमण भएको छ। घोडाघोडी–१० पहलमानपुरस्थित सिर्जना होटलका सञ्चालक ४० वर्षीय चेतबहादुर सिंह र अजुवा क्याफे (घोडाघोडी–१) का सञ्चालक ४८ वर्षीय डबलबहादुर शाहले पत्रकार मिश्रमाथि हातपात गरेका हुन्।

पत्रकार मिश्राको उजुरीपछि इलाका प्रहरी कार्यालय सुखडले डबलबहादुर शाहलाई नियन्त्रणमा लिएको छ। प्रशासनले विदेशी नागरिकहरूलाई तोकिएको समयमा क्षेत्र खाली नगरे थप कानुनी कारबाही हुने चेतावनी दिएको छ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *