२५ करोड नगद बरामद प्रकरण : प्रहरी रहस्यमय मालिकको खोजीमा

काठमाडौं /काठमाडौंको टोखाबाट बरामद २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ बराबरको युरो र डलर प्रकरणमा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। सोमबार राति ११ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले टोखाबाट यो रकम बरामद गरेको थियो।

रसुवागढी हुँदै चीन पठाउन लागिएको आशंकासहित प्रहरीले अनुसन्धान गरिरहेको छ। सिन्धुपाल्चोकका ट्रक चालकले फल्स बटम (गुप्त भण्डारण) बनाई रकम लुकाएर लैजान लागेको खुल्न आएको छ। प्रहरीका अनुसार रकमको स्रोत र मालिकबारे अझै स्पष्ट खुलिसकेको छैन।

प्रहरीले यस प्रकरणमा कुसाङ लामालाई पक्राउ गरेको छ। ५ वर्षअघि ७ किलो अवैध सुन तस्करी प्रकरणमा पक्राउ परेका उनी २०७८ पुसमा नख्खु कारागारबाट मुक्त भएका थिए। प्रहरीका अनुसार यो घटनामा कुसाङले ट्रक चलाउने जिम्मेवारी पाएका थिए, तर रकमको वास्तविक मालिक को हो भन्ने खुल्न सकेको छैन।

प्रहरीले बरामद गरेको रकममध्ये:

अमेरिकी डलर १ सय दरका नोट – ३,११९ थान,अमेरिकी डलर ५० दरका नोट – १७९ थान,युरो ५ सय दरका नोट – ११ थान,युरो २ सय दरका नोट – ४८० थान,युरो १०० दरका नोट – ४,१४८ थान,युरो ५० दरका नोट – १७,१७७ थान

साथै, प्रहरीले दुई थान मोबाइल पनि बरामद गरेको छ। प्रहरीका अनुसार रकम काठमाडौंमै जम्मा गरिएको हो वा विदेशबाट ल्याइएको हो भन्ने अझै स्पष्ट हुन सकेको छैन।

बुधबारको प्रतिनिधिसभा बैठकमा २५ करोड प्रकरणबारे प्रश्न उठेको थियो। सांसद अमरेशकुमार सिंहले “प्रहरीले सधैं भरिया मात्र समात्ने तर मालिकलाई नछुने” आरोप लगाउँदै गहिरो छानबिनको माग गरेका छन्। सांसद माधव सापकोटाले नेपालमा संगठित अपराध र तस्करीको जालो फैलिएको बताउँदै गम्भीर अनुसन्धान आवश्यक रहेको धारणा राखे।

प्रहरीले कुसाङ लामासँगको सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी गरिरहेको छ। उनको फोन सम्पर्क विवरण प्राप्त गर्न दूरसञ्चार कम्पनीहरूसँग डाटा माग गरिएको छ। प्रहरीले अनुसन्धानलाई गहिराइमा लैजानका लागि आर्थिक स्रोत र संलग्न व्यक्तिहरूको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *