रामनवमीका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
विराटनगर /सरकारले यस वर्षको रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ ले मंगलबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन्।
बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेशप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए। भट्ट बैतडीका हुन्।
त्यस्तै, सरकारले अर्घाखाँचीका यदुनाथ पौडेललाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा नियुक्त गर्न निर्देशन दिने निर्णय गरेको छ। साथै, शिक्षक सेवा आयोगका सदस्यहरूका रूपमा सुर्खेतकी पवित्रा सुवेदी र मकवानपुरका रामशरण सापकोटा नियुक्त भएका छन्।
सरकारका पछिल्ला यी निर्णयहरू प्रशासनिक व्यवस्थापन तथा धार्मिक चाडपर्वलाई ध्यानमा राखी गरिएका हुन्।