‘अञ्जिला’ हेर्न विद्यार्थीहरूको हलमा भिड
काठमाडौँ / राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ हेर्न स्कुले विद्यार्थीहरूको ठूलो सहभागिता देखिएको छ। गत बिहीबार फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले प्रेरणात्मक सन्देश दिने भएकाले विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई हलसम्म पुर्याएका छन्।
सोमबार दरबारमार्गस्थित क्युएफएक्स हलमा डाफोडिल बोर्डिङ स्कुल र डाफोडिल पब्लिक स्कुलका ३६० विद्यार्थी फिल्म हेर्न पुगेका थिए। निर्देशक मिलन चाम्सका अनुसार फिल्म रिलिजको दोस्रो दिनदेखि नै देशभरका विद्यालयहरूले विद्यार्थीहरूलाई यो फिल्म हेर्न पठाइरहेका छन्।
डाफोडिल स्कुलका अरविन्द कुमार मण्डलका अनुसार विद्यार्थीहरूलाई सङ्घर्ष, निरन्तरता, र सफलता सिकाउने भएकाले यो फिल्म हेर्न प्रेरित गरिएको हो। उनले भने, “यो फिल्मले हाम्रो विद्यार्थीहरूलाई ‘नेभर गिभ अप’ भन्ने सन्देश दिएको छ। मनोरञ्जनसँगै कप्तान सुब्बाको जीवन बुझ्न अवसर मिलेको छ।”
निर्देशक चाम्सले सङ्घर्षबाट प्राप्त सफलता दीर्घायु हुन्छ भन्ने सन्देश फिल्मले दिएको बताउँदै अन्य विद्यालयहरूलाई पनि यस अभियानमा सहभागी हुन आग्रह गरे।
फिल्मका निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठका अनुसार ‘अञ्जिला’ बाट सङ्कलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाको घर निर्माणका लागि खर्च गरिनेछ।
फिल्ममा अञ्जिला तुम्बापो सुब्बाले आफैँ प्रमुख भूमिका निभाएकी छन्। यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। फिल्ममा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय रहेको छ।
बक्स अफिस रिपोर्टअनुसार, ‘अञ्जिला’ले पहिलो तीन दिनमै २ करोड ७ लाख ग्रस कलेक्सन गर्दै राम्रो व्यापार गरिरहेको छ। फिल्मको सफलतासँगै यसले नेपाली खेलकुदप्रेमी दर्शकमाझ ठूलो प्रभाव पारेको देखिन्छ।