विराटनगरमा पाँचदिने श्रीराधाकृष्ण रासलीला सुरु
विराटनगर / भगवान श्रीराधाकृष्णको चरित्रमा आधारित पाँचदिने रासलीला मंगलबार साँझ विराटनगरको अतिथि सदनमा सुरु भएको छ। हैदराबादका त्रिदण्डी चिन्न जियर स्वामी र कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो।
उद्घाटन समारोहमा प्रदेश प्रमुख खापुङ्गले धर्म र संस्कृति व्यक्ति तथा समुदायको पहिचान भएको बताउँदै, समाजका सबै संस्कृतिहरू समानरूपमा फस्टाए मात्र राष्ट्र समग्र रूपमा विकसित हुनसक्ने धारणा राख्नुभयो।
स्वामी चिन्न जियरले प्रत्येक समुदायका आफ्नै धर्म, संस्कृति तथा परम्परा हुने उल्लेख गर्दै तिनलाई अंगिकार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो। साथै, आफ्नो धर्म-संस्कृतिको संरक्षण गर्दै अन्य धर्महरूको सम्मान गर्नुपर्ने धारणा राख्दै यसले धर्म परिवर्तन जस्ता गतिविधिहरू न्यून गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।
श्रीहरि सत्संग समिति नेपालको आयोजनामा सुरु भएको रासलीला कार्यक्रम चैत ९ गतेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रत्येक दिन साँझ ६ बजेदेखि ९ बजेसम्म कार्यक्रम आयोजना हुनेछ।
रासलीला संयोजक महेश कुमार स्वर्णकारका अनुसार यो कार्यक्रम सनातन धर्म-संस्कृतिको संरक्षणसँगै समाजमा नैतिकता र सदाचारको प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान दिनेछ।
सो अवसरमा वृन्दावनबाट आएका कलाकारहरूले भगवान श्रीराधाकृष्ण र गोपिनीहरूको भूमिकामा नृत्यनाटिकासहित रासलीला प्रस्तुत गरेका थिए।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य भीम पराजुली, नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष भक्तीनाथ माझी, आयोजक संस्थाका राष्ट्रिय अध्यक्ष भीखमचन्द सरल लगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।