बिरामी लिएर विराटनगरतर्फ आइरहेको एम्बुलेन्स दुर्घटना
विराटनगर। झापाबाट बिरामी लिएर विराटनगरतर्फ आइरहेको एम्बुलेन्स बुधबार बिहान दुर्घटना भएको छ। दमक नगरपालिका–५ मा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पातालबाट बिरामी लिएर आउँदै गरेको प्र १–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो। तीव्र गतिमा रहेको एम्बुलेन्स अनियन्त्रित भएर सडकको बीचमा रहेको डिभाईडरमा ठोक्किएको प्रहरीले जनाएको छ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा झापाको अर्जुनधारा नगरपालिका–१० की १९ वर्षीया आरजु राई, २० वर्षीय विशाल लिम्बू, ५१ वर्षीया मीना लिम्बू, २१ वर्षीय अन्जेश लिम्बू र २३ वर्षीया वर्षा लिम्बू घाइते भएका छन्।
एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका–५ का ३५ वर्षीय कमल अधिकारी पनि घाइते भएका छन्। घाइतेमध्ये टाउकोमा चोट लागेकाले आरजुको अवस्था गम्भीर छ। घाइते सबैलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर घाइते हुनेमध्ये ५१ वर्षीया मीना लिम्बू बिरामी पनि छन्। केही समयदेखि उनको खुट्टा दुखिरहेको थियो। बिर्तामोडको मनमोहन मेमोरियल सामुदायिक अस्पातालमा उपचार भइरहेको थियो। अस्पतालले थप उपचारका लागि रेफर गरेपछि विराटनगरतर्फ ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको हो।