March 19, 2025
रङ्गेलीमा छोराको चक्कु प्रहारबाट बुवा गम्भीर घाइते
रङ्गेली / मोरङ्गको रङ्गेलीमा छोराद्वारा चक्कु प्रहार गरी बुवा गम्भीर घाइते भएका छन्।
रङ्गेली–७ स्थित भाँडाकुँडाको पसल सञ्चालन गर्दै आएका चन्दन चौधरीलाई उनका ठूलो छोरा अशोक चौधरीले भान्सामा प्रयोग हुने चक्कु प्रहार गर्दा चन्दन गम्भीर घाइते भएका छन्। अशोकले सोमबार दिउँसो करिब ४:०० बजे आफ्नै पसल अगाडि बाटोमै खुलेआम सो घटना घटाएका हुन्।
घटनाका क्रममा घाइते चन्दनलाई उनका सानो छोरा सुभास चौधरी र स्थानीयले उपचारका लागि रङ्गेली अस्पताल लगेका थिए। तर, रङ्गेली अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि नवेला शिक्षण अस्पताल, विराटनगर लगिएको छ।
यसैबीच, घटनास्थलबाटै प्रहरीले आरोपी अशोकलाई नियन्त्रणमा लिएको छ। पसलको मालिकाना अधिकारको विषयमा बुवा-छोराबीच विवाद हुँदै आएको र त्यसकै कारण अशोकले आक्रमण गरेको हुनसक्ने स्थानीयले बताएका छन्।