मोरङको कदमाहा गाउँमा भीषण आगलागी, तीन वर्षीय बालिकाको ज्यान गयो

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका-६ र ७, कदमाहा गाउँ मा भीषण आगलागी हुँदा तीन वर्षीय बालिकाको मृत्यु भएको छ।

प्राप्त जानकारी अनुसार, मो. हनिफकी छोरी रेश्मा (३ वर्ष) को आगोले जलेर घटनास्थलमै निधन भएको छ।

आगलागीमा १२ घर परिवारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय बासिन्दाका अनुसार सम्पूर्ण घरधुरी खरानीमा परिणत भएको छ, जसले पीडित परिवारलाई गम्भीर संकटमा पारेको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशी का अनुसार, आगो नियन्त्रणका लागि दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोग लिइएको थियो। दमकलको समयमै हस्तक्षेपका कारण आगो थप फैलिन पाएन।

सुख्खा मौसम र हावाहुरीका कारण हालैका दिनहरूमा विराटनगर, झापा, तेह्रथुम, भोजपुर लगायतका स्थानमा आगलागीका घटनाहरू बढिरहेका छन्। यसैक्रममा कदमाहा गाउँमा भएको यो घटना थप सावधानी अपनाउनुपर्ने संकेत दिएको छ।

प्रहरी प्रशासनले आगो नियन्त्रण तथा सम्भावित जोखिम न्यूनीकरणका लागि सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *