March 17, 2025
मोरङको सुनवर्षीमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
सुनवर्षी / मोरङको सुनवर्षी नगरपालिका–१ कमलपोखरीमा स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। आइतबार साँझ प्याराडाइज बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ९ वर्षीया सन्जु परियारको मृत्यु भएको हो।
प्रहरीका अनुसार साइकलमा यात्रा गरिरहेकी सन्जुलाई केचनाबाट शुक्रबारेतर्फ जाँदै गरेको ना ४ ख ८८४३ नम्बरको स्कुल बसले ठक्कर दिएको थियो। दुर्घटनापछि घटनास्थलमै उनको मृत्यु भएको पुष्टि गरिएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार बस चालक राजेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ। ३६ वर्षीय राई सुनवर्षी–१ शुक्रबारेका बासिन्दा हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।