महेन्द्र मोरङ क्याम्पस स्ववियू निर्वाचनमा विवाद, उम्मेदवारको आत्मदाहको चेतावनी
विराटनगर/ महेन्द्र मोरङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको तयारीका बीच नेविसंघ (शेखर कोइराला समूह) का सभापति उम्मेदवार योगराज दाहालले निर्वाचन अधिकृतले समस्या समाधान नगरी जबर्जस्ती चुनाव गराउन खोजे आत्मदाह गर्ने चेतावनी दिएका छन्।
निर्वाचनको मौन अवधि सुरु भइसकेपछि आइतबार पत्रकार सम्मेलन गर्दै दाहालले चुनावी प्रक्रिया अन्यायपूर्ण रहेको दाबी गर्दै तत्काल समाधानको माग गरेका हुन्। उनले नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सांसद अमृत अर्याल र कांग्रेस मोरङ उपसभापति तथा विराटनगर महानगर प्रमुख नागेश कोइरालासँगको मिलेमतोमा निर्वाचन अधिकृत शुशिल अधिकारीले गलत निर्णय गरेको आरोप लगाए।
उनका अनुसार, नेविसंघको आधिकारिकता प्रमाणित गर्ने चिठ्ठी बुझाउँदा पनि उनको प्यानललाई स्वतन्त्र उम्मेदवारको सूचीमा राखिएको छ। साथै, क्याम्पस प्रशासनले फर्जी विद्यार्थीहरुको नाम मतदाता सूचीमा राखेको भन्दै उनले तत्काल सच्याउन माग गरेका छन्।
दाहालले नेविसंघ मोरङ सभापति सरोज पोखरेललगायतलाई कुटपिट गर्नेहरूलाई कानुनी कारबाही नगरिए आफू आत्मदाह गर्न बाध्य हुने चेतावनी दिएका छन्।
यसैबीच, नेविसंघ मोरङका सचिव गुड्डु साहले पनि आइतबार विज्ञप्ति जारी गर्दै महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारका रूपमा सार्वजनिक गर्ने निर्णय सच्याउन माग गरेका छन्।
चुनावी प्रक्रिया थप जटिल
स्ववियू निर्वाचनलाई लिएर क्याम्पसमा तनाब बढ्दो छ। नेविसंघ पक्षधर विद्यार्थीहरूले निष्पक्ष निर्वाचनको माग गरिरहेका छन् भने क्याम्पस प्रशासनले निर्वाचनलाई निष्पक्ष बनाउन आवश्यक प्रक्रिया पूरा गरिएको बताउँदै आएको छ।
स्थिति तनावपूर्ण बन्दै गएकोले निर्वाचन प्रक्रियाबारे थप निर्णय लिन सरोकारवाला निकायहरूमाथि दबाब बढेको देखिन्छ।