चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक, रहस्य र थ्रिलले भरिएको कथा

विराटनगर/ चलचित्र ‘डोरी’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार रिलिज गरिएको ट्रेलरमा अधिकांश पात्रहरूलाई प्रस्तुत गर्दै फिल्मको रहस्यपूर्ण कथावस्तु झल्काइएको छ।

ट्रेलर चलचित्रको शीर्षक ‘डोरी’ वरिपरि घुमेको देखिन्छ। कथामा डोरीलाई शक्ति भएको वस्तु को रूपमा चित्रण गरिएको छ, जसलाई सबैले खोजिरहेका छन्। यही क्रममा आइपर्ने रहस्यमयी घटनाक्रम ट्रेलरमा देख्न सकिन्छ। साथै, ट्रेलरमा थ्रिल र हरर दृश्यहरू पनि समावेश गरिएका छन्, जसले दर्शकलाई उत्कण्ठित बनाउने संकेत गर्छ।

चलचित्रको लेखन तथा निर्देशन अरुण लामाले गरेका छन्। फिल्ममा अरुण लामा आफैँ मुख्य भूमिका मा देखिनेछन्। साथै, प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ।

चलचित्र चैत १५ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। फिल्मका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन्।

रहस्यमय कथा, रोमाञ्चक थ्रिलर र हरर तत्वहरू समेटिएको ‘डोरी’ दर्शकमाझ कत्तिको लोकप्रिय बन्ने हो, त्यसका लागि अब केही दिन पर्खनु पर्नेछ।

Add a Comment

Your email address will not be published. Required fields are marked *