विराटनगरमा चैत ५ गतेदेखि भव्य रासलीला कार्यक्रम आयोजना हुने

विराटनगर/ विराटनगरमा यही चैत ५ गतेदेखि भव्य रासलीला कार्यक्रम आयोजना हुने भएको छ। श्रीहरि सत्संग समिति नेपालको आयोजनामा भारतको वृन्दावनबाट आएका २१ जना कलाकारहरूको टोलीले राधाकृष्णको जीवनशैलीमा आधारित रासलीला प्रस्तुत गर्नेछन्।

विराटनगरको अतिथि सदनमा सञ्चालन हुने यो कार्यक्रमको उद्घाटन कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले गर्नेछन्। चैत ९ गतेसम्म सञ्चालन हुने रासलीलामा प्रत्येक दिन विभिन्न जातीय समुदाय— मारवाडी, थारु, मैथिली, र सन्थालको धर्मसंस्कृतिबारे सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ।

श्रीहरि सत्संग समिति नेपालका अध्यक्ष भिखमचन्द सरलले रासलीला नेपालसम्म ल्याउन ठूलो प्रयास गरिएको बताए। सरलले रासलीला कार्यक्रममा १० लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको र उक्त रकम तेस्रो रथ खरिद गर्न प्रयोग गरिने जानकारी दिए। यसअघि समितिले दुई वटा रथ खरिद गरिसकेको छ।

रासलीलाको संयोजनका लागि सुनचाँदी व्यवसायी महेशकुमार स्वर्णकार संयोजक र उद्योगी घनश्याम काबरा सह-संयोजक तोकिएका छन्। संयोजक स्वर्णकारले पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका छन्।

समितिले विराटनगरवासीलाई कार्यक्रममा सहभागिता जनाउन तथा दान पेटिकामा सहयोग गर्न आग्रह गरेको छ। कार्यक्रमलाई भव्य बनाउन विभिन्न उद्योगी, व्यवसायी तथा धार्मिक संस्थाहरूको सहकार्यमा आयोजना गरिँदैछ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *