सञ्चार क्षेत्रमा महिला पत्रकारको सहभागिता वृद्धि गर्न सञ्चार गृह महिला मैत्री हुनुपर्ने सुझाव

विराटनगर/ सञ्चार क्षेत्रमा महिला पत्रकारको सङ्ख्या वृद्धि गर्न सञ्चार गृह महिला मैत्री हुनुपर्ने सुझाव सरोकारवालाले दिएका छन्।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र नेपाल पत्रकार महासङ्घ मोरङद्वारा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुधबार आयोजित ‘सञ्चार क्षेत्रमा पत्रकार महिलाको अर्थपूर्ण सहभागिता’ विषयक अन्तरक्रियामा सहभागीहरूले सञ्चार गृहले महिला पत्रकारलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्नेमा जोड दिए। साथै, महासङ्घले आवश्यक अनुगमन र पहल गर्नुपर्ने माग गरे।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी राज्यमन्त्री सिर्जना राईले सङ्घीय गणतन्त्र प्रवर्द्धन गर्न र सञ्चार क्षेत्रमा महिला पत्रकारको सङ्ख्या वृद्धि गर्न सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरिन्। उनले समाजमा सञ्चारलगायत अन्य क्षेत्रमा महिलामाथि हुने विभेद अन्त्य गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिइन्।

सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङले महिला पत्रकारलाई न्यून पारिश्रमिकमा काम नगर्न आग्रह गर्दै मन्त्रालयले महिलाका लागि लेखनवृत्ति रकम वृद्धि गर्ने घोषणा गरे।

नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सुशीला पाठक, उपाध्यक्षद्वय सन्तोष सिग्देल र तारा आचार्य, सचिव नेत्र पि. अधिकारी, कोशी प्रदेश अध्यक्ष भरत खड्का, केन्द्रीय सदस्य कमल रिमाल, मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार विक्रम लुइँटेल, पत्रकार विवेक गौतमलगायतले महिला पत्रकार र स्थानीय सञ्चार गृहको प्रवर्द्धनका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा महासङ्घ मोरङका पूर्वअध्यक्ष बन्धु पोखरेलले ‘पत्रकारितामा महिला पत्रकारको स्थायित्वको सवाल’ तथा कान्तिपुर टेलिभिजनका उपसम्पादक महाप्रसाद खतिवडाले ‘सञ्चार क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र भावी रणनीति’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *