कोशी प्रदेशमा एसईई परीक्षाका लागि सम्पूर्ण तयारी पूरा
विराटनगर/ कोशी प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। आगामी चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने परीक्षामा ८० हजार ९३४ विद्यार्थी सहभागी हुनेछन्।
शिक्षा निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेलका अनुसार परीक्षालाई व्यवस्थित बनाउन ३७१ परीक्षा केन्द्र तोकिएको छ। परीक्षाका लागि ३७१ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष, चार हजार ४५ निरीक्षक, ८०९ परीक्षा सहायक, एक हजार ६१३ सहयोगी तथा पाँच हजार ५६५ सुरक्षाकर्मी सहित कुल १२ हजार ९४९ जनशक्ति परिचालन गरिनेछ।
सबैभन्दा धेरै परीक्षार्थी मोरङबाट १८ हजार १०७, झापाबाट १७ हजार २८ र सुनसरीबाट १३ हजार ५८३ रहेका छन् भने सबैभन्दा कम परीक्षार्थी तेह्रथुमबाट १ हजार १९० जना रहेका छन्।
अपाङ्ग परीक्षार्थीका लागि समय सुविधासहित बढीमा १ घण्टा ३० मिनेट अतिरिक्त समय प्रदान गरिने व्यवस्था गरिएको छ। सामाजिक विकास मन्त्री पाँचकर्ण राईले परीक्षा मर्यादित, शान्त र अनुशासित बनाउन विशेष योजना बनाइएको जानकारी दिए।