March 12, 2025
विराट गोल्डकपको उपाधि थ्रीस्टार क्लबलाई
विराटनगर / नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जितेको छ। बुधबार राति सम्पन्न फाइनल खेलमा थ्रीस्टारले चर्च ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको हो।
विजेता टोलीका लागि खेलको पाँचौं मिनेटमै खेमराज श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि ६३औं मिनेटमा दीपेश घलेले थप गोल गर्दै टिमको जित सुनिश्चित गरे।
उपाधिसँगै थ्रीस्टार क्लबले ११ लाख रुपैयाँ नगद र ट्रफी प्राप्त गरेको छ भने उपविजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँ पुरस्कार पाएको छ।
यसअघि, थ्रीस्टारले पाँचौं संस्करणको विराट गोल्डकपको उपाधि पनि जितेको थियो।