महेन्द्र मोरङ क्याम्पसमा तोडफोड र आगजनी प्रकरणः नेविसंघका चार विद्यार्थी नेता पक्राउ
विराटनगर/ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर भएको तोडफोड र आगजनी प्रकरणमा प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ) का चार जना नेतालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा नेविसंघ केन्द्रीय सदस्य २६ वर्षीय योगराज दाहाल, २० वर्षीय आयुष दाहाल, नेविसंघ मोरङ सचिव ३० वर्षीय गुड्डु साह र २६ वर्षीया केन्द्रीय सदस्य पूजा विश्वास रहेका छन्। प्रहरीका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको हो।
बुधबार दिउँसो स्ववियु निर्वाचन कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो। त्यसपछि निर्वाचन कार्यालयमा तालाबन्दीसमेत गरिएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीका अनुसार घटनामा संलग्न चार जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।
स्ववियु निर्वाचनमा नेविसंघ संस्थापन पक्षबाट प्रज्वल विष्ट र डा. शेखर कोइराला समूहबाट योगराज दाहालले उम्मेदवारी दिएका थिए। मंगलबार अबेर राति उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दा निर्वाचन समितिले विष्टलाई आधिकारिक उम्मेदवारको रूपमा स्वीकार गरेको थियो।
तर, कोइराला समूहका उम्मेदवार योगराज दाहाललाई स्वतन्त्र उम्मेदवारको सूचीमा राखिएको थियो। संगठनको आधिकारिक उम्मेदवारलाई स्वतन्त्र बनाएको भन्दै कोइराला समूहका विद्यार्थीहरू आक्रोशित भएका थिए। त्यसै क्रममा क्याम्पसमा तोडफोड, आगजनी र तालाबन्दी गरिएको थियो।
महेन्द्र मोरङ क्याम्पसका निर्वाचन अधिकृत सुशील अधिकारीका अनुसार कोइराला समूहका विद्यार्थीले लगाएको ताला प्रहरीले खोलेको छ। आगजनीबाट केही कागजात जलेका छन्।
यसअघि, फागुन १५ गते पनि नेविसंघ मोरङ जिल्ला सभापति सरोज पोखरेलमाथि स्ववियु सभापति जसवन्त पौडेल नेतृत्वको समूहले क्याम्पस परिसरमै कुटपिट गरेको थियो।
हाल पक्राउ परेका विद्यार्थी नेताहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।