सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प, यात्रुहरू समस्यामा

विराटनगर/ सुकेटार विमानस्थलमा हवाई सेवा सञ्चालन नहुँदा यात्रु समस्यामा परेका छन्। नेपाल वायु सेवा निगमका दुईवटा विमानमा समस्या आएपछि मंसिरयता उडान हुन सकेको छैन।

एउटा विमान मर्मत भइरहेको र अर्काे पनि बिग्रिएर थन्किएको जनाइएको छ। लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारण आउजाउ गर्न पाएका छैनन्।

केही वर्षअघि सुकेटारमा सीता र तारा एयरले पर्यटकीय मौसममा उडान भर्दै आएका थिए। ती पनि अहिले बन्द छन्।

नेपाल वायु सेवा निगमको ट्विनअटरले दसैंअघि सातामा सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन नियमित उडान भर्दै आएको थियो। गत दसैंपछि भने शुक्रबार मात्रै उडान भइरहेको थियो।

सुकेटार विमानस्थलका अधिकृत धर्मेन्द्र खनालका अनुसार चाँडै उडान सञ्चालन गर्नका लागि पहल भइरहेको छ। यहाँबाट उडान नहुँदा पर्यटकले हवाई सेवा लिन पाएका छैनन् भने स्वास्थ्य उपचार तथा अन्य जरुरी कामका लागि अन्यत्र जानुपर्ने यात्रुहरु झापा वा विराटनगरका विमानस्थलसम्म पुग्नुपर्ने बाध्यता छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *