विराटनगर जेसिजले नारी सम्मान गर्दै मनायो ५२औं स्थापना दिवस
विराटनगर / विराटनगर जेसिजले आफ्नो ५२औं स्थापना दिवस भव्य रूपमा मनाउँदै नारी सशक्तिकरणलाई सम्मान गर्ने अभियानलाई प्राथमिकता दिएको छ। युवा नेतृत्व, व्यक्तित्व विकास र सामाजिक सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको विराटनगर जेसिजले मार्च ७ (फागुन २३) मा आफ्नै भवनमा विशेष कार्यक्रमको आयोजना गर्यो।
कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलियालाई २०२५ की उत्कृष्ट नारी सम्मान प्रदान गर्दै नारी शक्तिको सम्मान गरिएको थियो। विराटनगर जेसिज २०२५ का अध्यक्ष प्रितेस दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष फुलकुमार लालवानी, बोर्ड अफ ट्रस्टका अध्यक्ष टिकाराज ढकाल, पूर्व अध्यक्ष क्लबका सदस्यहरू, समाजसेवी, बुद्धिजीवी, जुनियर जेसिज तथा जेसिज २०२५ का सम्पूर्ण बोर्ड सदस्यहरूको सहभागिता रहेको जनसम्पर्क अधिकारी अभिषेक गौतमले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयकी सचिव थपलियाले दिप प्रज्वलन तथा केक काटेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
स्थापना दिवसको अवसरमा बिहानै विराटनगर-९ स्थित एम्स कलेज परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आयोजित रक्तदान कार्यक्रममा जेसिज सदस्यहरू तथा स्थानीयहरू सहभागी भएका थिए।
कार्यक्रमको संयोजन जेसी पवन काफ्लेले गरेका थिए भने स्वागत मन्तव्य जेसी मनोज तिवारीले दिएका थिए। जेसी आस्था पाठको अगुवाइ जेसी सुवास भण्डारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन विराटनगर जेसिज २०२५ का महासचिव जेसी प्रवेश दुलालले गरेका थिए।