March 8, 2025
एनआरटी र चर्च ब्वाइज आमनेसामने, महिलाहरूका लागि आज प्रवेश निःशुल्क
विराटनगर। विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडबीच खेल हुँदैछ। खेल सहिद रंगशालामा साँझ साढे ६ बजेपछि सुरु हुने आयोजकले जनाएको छ।
आजको खेलमा जितहारको टुंगो लागेपछि प्रतियोगताको सेमिफाइनल समीकरण पूरा हुने छ। सेमिफाइनल खेल आइतबार सुरु हुने छ। यसअघि शुक्रबार राति सम्पन्न खेलमा थ्रीस्टार क्लब साबिक विजेता मच्छिन्द्र एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको छ। पहिलो सेमिफाइनल खेल थ्रीस्टार र विभागीय टोली त्रिभूवन आर्मीबीच हुने छ।
महिलालाई निःशुल्क
शनिबार ११५औं अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा खेल हेर्न महिलाका लागि निःशुल्क गरिएको छ। महिलालाई सम्मान गर्ने उद्देश्यले आयोजकले अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ।