March 8, 2025
प्रहरीको नक्कल गरी ठगी गर्ने व्यक्ति पक्राउ
रौतहट / प्रहरी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति रौतहटबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्ने व्यक्ति गरुडा नगरपालिका-८ बिर्ता चोकका ४४ वर्षीय शेख सदरे आलम हुन्।
आलमले आफूलाई घुमुवा प्रहरी भएको बताउँदै स्थानीय किसानहरूबाट रकम असुल्ने गरेको खुलासा भएको छ। उनको गतिविधिप्रति शंका लागेपछि प्रहरीको विशेष टोलीले अनुसन्धान गर्दै उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार आलमविरुद्ध ठगी सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ। प्रहरीले सर्वसाधारणलाई यस्ता ठगी गतिविधिबाट सतर्क रहन आग्रह गरेको छ।