पूर्वराजा ज्ञानेन्द्रको पुनर्बहालीको माग गर्दै विराटनगरमा शक्ति प्रदर्शन
विराटनगर / नेपालका राष्ट्रवादी शक्तिहरूले पूर्वराजा ज्ञानेन्द्र शाहका लागि नारायणहिटी दरबार खाली गर्न सरकारलाई चेतावनी दिएका छन्। साथै, संघीयता खारेजको माग गर्दै शुक्रबार विराटनगरमा शक्ति प्रदर्शन गरिएको छ।
२०६२/६३ को जनआन्दोलनपछि गणतन्त्र घोषणासँगै नारायणहिटी दरबारलाई संग्रहालयमा परिणत गरिएको थियो। तर, पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः गद्दीमा फर्काउने अभियानमा सक्रिय राष्ट्रवादी समूहहरूले नारायणहिटीलाई पुनः दरबार बनाउने अल्टिमेटम दिएका छन्।
पूर्वराजाको पुनर्बहालीको पक्षमा आयोजित जुलुसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राजेन्द्र लिङ्देन), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (कमल थापा), एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङ (बल्लभप्रसाद दाहाल), नेपाल विद्युत् परिषद् (जितबहादुर अर्जेल), राष्ट्रिय शक्ति नेपाल (केशवबहादुर बिष्ट) लगायत विभिन्न दलका नेता तथा सयौं सर्वसाधारण सहभागी थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कोशी प्रदेश अध्यक्ष माधव आचार्य र मोरङ जिल्ला अध्यक्ष कुमार ढकालको नेतृत्वमा शक्ति प्रदर्शन गरिएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री प्रहलादप्रसाद शाह समेत जुलुसमा सहभागी थिए।
शक्ति प्रदर्शनस्वरूप पुष्पलाल चौकबाट गाडी र मोटरसाइकलसहितको जुलुस नगर क्षेत्रका विभिन्न भाग परिक्रमा गर्दै गणतन्त्रविरुद्ध नाराबाजी गरिएको थियो। जुलुसपछि कञ्चनवारी चौकमा आयोजित विरोध सभामा प्रहलादप्रसाद शाह, माधव आचार्य, कुमार ढकाल, एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका उपाध्यक्ष रमा प्रसाई र पर्यटन व्यवसायी रेवतबहादुर थापाले मन्तव्य व्यक्त गरे।
शक्ति प्रदर्शनलाई सर्वसाधारणले सडक पेटीबाट स्वागत गरेको देखिन्थ्यो। कतिपयले मोबाइलमा फोटो तथा भिडियो खिच्दै विरोध कार्यक्रमप्रति चासो देखाएका थिए।
राष्ट्रवादी समूहहरूले यदि सरकारको रवैया परिवर्तन नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।