‘होस्टेल ३’ आजदेखि देशभर प्रदर्शनमा, युवामाझ उत्साह
काठमाडौं / बहुप्रतीक्षित नेपाली फिल्म ‘होस्टेल ३’ आज (शुक्रबार) बाट देशभर प्रदर्शनमा आएको छ। फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको यो फिल्मलाई एकल प्रदर्शनको अवसर प्राप्त भए पनि देशभरका सबै हलमा सम्पूर्ण शो पाउन सकेको छैन।
गत साता प्रदर्शनमा आएका ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिरिरि’ जस्ता फिल्महरूले अझै पनि धेरै हलमा आफ्नो उपस्थितिलाई कायम राखेकाले ‘होस्टेल ३’ लाई केही सीमित शोहरूमा प्रदर्शन गर्नुपरेको छ।
सशान कँडेल निर्देशित यो फिल्म युवा दर्शकलाई लक्षित गरी निर्माण गरिएको छ। पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत कलाकारहरूको अभिनय रहेको फिल्मले दर्शकमाझ राम्रो चर्चा पाएको छ।
फिल्मका निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर सह-निर्माताका रूपमा छन्। अर्जुन तिवारी को छायांकन तथा विकास दाहाल को सम्पादन रहेको यस फिल्मले प्रदर्शनको पहिलो दिनमै उल्लेखनीय दर्शक तान्ने संकेत देखाएको छ।
युवा पुस्तामाझ प्रतिक्षित मानिएको ‘होस्टेल ३’ ले आगामी दिनहरूमा अझ राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।