हवाई फायर गरी गाँजा ओसारपसारमा संलग्न एकजना पक्राउ
विराटनगर / सुनसरीको धरान उप-महानगरपालिका-२० स्थित प्रहरीले हवाई फायर गर्दै लागुऔषध गाँजा ओसारपसारमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, फागुन २२ गते राति १ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान, र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको टोलीले विष्णुपादुका क्षेत्र हुँदै रेल्वेतर्फ जंगलको बाटोबाट गाँजा ओसारपसार भइरहेको अवस्थामा शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोजेको थियो। प्रहरी नियन्त्रणको प्रयासमा संलग्न व्यक्तिहरू भाग्न खोजेपछि तीन राउण्ड हवाई फायर गरिएको थियो।
यस क्रममा धनकुटा साँगुरीगढी नगरपालिका-९ निवासी ४३ वर्षीय हरि कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिसँग ९ वटा भारीमा राखिएको २२५ किलोग्राम गाँजा बरामद गरिएको छ।
यस घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी तथा घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।