जनता नमुना माविका शिक्षक यौन दुव्र्यवहारको आरोपमा पक्राउ
विराटनगर / मोरङको शंकरपुरस्थित जनता नमुना माध्यमिक विद्यालयका एक शिक्षकलाई बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। लामो समयदेखि करार सेवामा शिक्षण गर्दै आएका ती शिक्षकविरुद्ध विद्यार्थी तथा अभिभावकहरूले गम्भीर आरोप लगाएका छन्।
विद्यार्थीहरूका अनुसार उक्त शिक्षकले पहिले देखिनै बालिकाहरूलाई दुर्व्यवहार गर्दै आएका थिए। पीडितले कसैलाई बताएमा कुटपिट र ज्यान मार्ने धम्की दिने गरेको समेत उजुरीमा उल्लेख गरिएको छ।
विद्यालय प्रशासनले समेत शिक्षकको खराब व्यवहारबारे पहिल्यै जानकारी भएको स्वीकारे पनि यसअघि कुनै ठोस कारबाही नभएको खुलासा भएको छ।
घटना बाहिरिएपछि आक्रोशित अभिभावक र विद्यार्थीहरूले शिक्षकविरुद्ध कडा कानुनी कारबाहीको माग गरेका छन्। मोरङ प्रहरी कार्यालयले घटनाबारे गम्भीर अनुसन्धान अघि बढाइएको जनाएको छ।
प्रहरी प्रवक्ताका अनुसार, पीडितको बयान, प्रमाण संकलन तथा अन्य कानुनी प्रक्रिया पूरा गरी कानूनअनुसार कारबाही अघि बढाइनेछ।