‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा, दर्शकबाट सकारात्मक प्रतिक्रिया
विराटनगर / शिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘लाज शरणम्’ दोस्रो हप्तामा प्रवेश गरेको छ। उच्च शो सङ्ख्यासहित प्रदर्शन भइरहेको सिनेमाले राम्रो व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स मा मात्र काठमाडौं उपत्यकाभित्र २१ शो पाएको यो सिनेमा देशभर १५० भन्दा बढी शो मा प्रदर्शन भइरहेको छ। निर्माता नवीन श्रेष्ठ का अनुसार दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको ‘लाज शरणम्’ ले दोस्रो हप्तामा पनि मजबुत व्यापार गरिरहेको छ।
सिनेमाले प्रदर्शनको पहिलो दिन १ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। त्यसपछिको कलेक्सन सार्वजनिक गरिएको छैन।
महेश त्रिपाठी, सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापा लगायतका कलाकार मुख्य भूमिकामा रहेको यो सिनेमालाई कुमार कट्टेल ले निर्देशन गरेका हुन्।
जेपीटी क्रिएसन को ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह-निर्माता छन्।