खेलाडीबाट दलका नेता कार्यकर्ताले अनुशासन सिक्नुपर्छ ः कोइराला

विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले खेलाडीबाट राजनैतिक दलका नेता कार्यकर्ताले अनुशासन सिक्नु आवश्यक रहेको बताएका छन् ।

विराट गोल्डकपको उद्घाटन समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै नेता कोइरालाले राजनीतिमा अनुशासनहीनता बढ्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले दलका नेता तथा कार्यकर्ताले खेलाडीबाट अनुशासन सिक्नुपर्नेमा जोड दिए । ‘अहिले जुनसुकै पार्टीभित्र अनुशासनहीनता बढ्दै गएको छ,’ संघीय सांसदसमेत रहेका कोइरालाले भने, ‘अनुशासन कस्तो हुनुपर्छ ? अनुशासनमा बसेर मेहनत गर्दा कस्तो सफलता प्राप्त हुन्छ भन्ने कुरा नेता कार्यकर्ताहरुले खेलाडीबाट सिक्नुपर्दछ ।’

नेता कोइरालाले राज्यले खेलकुद क्षेत्रमा गर्दै आएको लगानी बढाउनुपर्नेमा जोड दिए । खेलकुदमा लगानी बढाएर विद्यालयस्तरदेखि नै विभिन्न खेलकुद गर्ने हो भने स्वास्थ्य क्षेत्रमा हुनै आएको खर्च घट्ने उनको दाबी थियो । ‘जीवनशैली र खानपानका कारण अनि नियमित व्यायामको अभावले गर्दा अहिले मानिसमा अनेकौं किसिमका रोगहरु लाग्दै गएको छ । रोग लागेपछि उपचार गर्नै प¥यो । उपचार गर्दा लाखौं खर्च हुन्छ,’ नेता कोइरालाले थपे, ‘यदि खेलकुदमा लगानी बढाएर खेलकुदका गतिविधि बढाउन सकियो भने मान्छे स्वस्थ हुन्छन् । जसबाट स्वास्थ्य उपचारमा हुँदै आएको खर्च घट्छ । अझ उपचारका नाममा कडोरौं रुपैयाँ हरेक वर्ष विदेशिने गरेको छ । त्यो पनि रोकिन्छ ।’

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वास्थ्यका लागि मात्रै होइन आपसी सम्बन्ध र भाइचाराका लागि पनि खेलकुद अति आवश्यक रहेको औंल्याए । खेलकुदले देशको नामलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन मद्दत गर्ने उनको भनाइ थियो । ‘हाम्रा थुप्रै खेलाडीहरुले अन्तर्राष्ट्रिय पदक प्राप्त गरी देशको नामलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याएका छन् । खेलकुदका माध्यमबाट आर्थिक र आणविक रुपमा जस्तोसुकै शक्तिशाली र धनी मुलुकलाई पनि परास्त गर्न सकिन्छ,’ उनले भने । मेयर कोइरालाले धर्म र राजनीतिले विभाजित मन र मस्तिष्कलाई खेलकुदले जोड्ने बताए । राष्ट्रको नाम र प्रतिष्ठाका लागि खेल्ने खेलाडीहरुले राज्यबाट भने जति सम्मान पाउन नसकेको उनको गुनासो थियो । खेलकुदलाई पर्यटनसित जोडेर आर्थिक उपार्जनमा लाग्नुपर्नेमा समेत उनले जोड दिए ।

कार्यक्रममा विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, आयोजक समितिका संयोजक नविन रिजाल, प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष विन्द्या कार्कीलगायतले खेलकुदका माध्यमबाट देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुग्ने धारणा राखे । रमपम चाउचाउले मुख्य प्रायोजन गरेको प्रतियोगितामा नेपाल र भारतका १० वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता यही फागुन २८ गते सम्पन्न हुने

छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *