विराटनगर जेसीजका शाखा पदाधिकारी तथा मनोनित सदस्यका लागि तालिम सम्पन्न

विराटनगर/  विराटनगर जेसीजले शाखा पदाधिकारी तथा मनोनित सदस्यहरूका लागि दुई दिवसीय तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। होटल स्वागतम, रोडशेष चौकमा आयोजित उक्त तालिममा प्रशिक्षकका रूपमा विराटनगर जेसीजका पूर्व अध्यक्षहरूमध्ये हरि बहादुर श्रेष्ठ प्रमुख प्रशिक्षक रहेका थिए भने नेपाल जेसीजका प्रशिक्षक डा. सन्देश दास श्रेष्ठ र कैलाश खाकी श्रेष्ठले सह-प्रशिक्षकका रूपमा सहकार्य गरेका थिए।

तालिम कार्यक्रम विराटनगर जेसीजका पूर्व अध्यक्ष क्लबका अध्यक्ष प्रज्वल लाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा “मेरो एक वर्ष,” “मेरो वर्ष, मेरो दायित्व,” र “व्यक्तिगत सोच” जस्ता विषयमा विशेष प्रशिक्षण प्रदान गरिएको थियो।

नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा हालसम्मकै पहिलो अन्तर्राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सन्तोष रिजालले आफ्ना विगतका अनुभवहरू साझा गर्दै नेतृत्व विकासका लागि प्रेरणादायी विचार व्यक्त गरे।

कार्यक्रममा विशेष अतिथिका रूपमा संघीय सांसद तथा नेकपा एमालेकी प्रतिनिधि सभा सचेतक सुनिता बराल सहभागी भइन्। उनले आफ्नो अनुभव सुनाउँदै नेतृत्व विकासमा जेसीजको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन्।

विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहालले “भोलिका लागि संगसंगै” विषयमा केन्द्रित रहेर समुहगत कार्यको अभ्यास गराए। त्यस्तै, पूर्व अध्यक्ष हरि बहादुर श्रेष्ठले “विगत, वर्तमान र भविष्य” विषयक प्यानल छलफल सञ्चालन गरे, जसमा पूर्व अध्यक्षहरूको उल्लेखनीय सहभागिता रह्यो।

तालिममा सहभागी शृजना थापाले यस प्रकारका तालिमहरूले नेतृत्व क्षमता विकास गर्न मद्दत पुग्ने बताइन्। अध्यक्ष दाहालले पनि तालिमलाई आगामी कार्यदिशा तय गर्न फलदायी रहेको भन्दै पूर्व अध्यक्ष क्लबप्रति आभार व्यक्त गरे।

उक्त कार्यक्रम विराटनगर जेसीजका पूर्व अध्यक्ष, बोर्ड पदाधिकारी तथा मनोनित सदस्यहरूको उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको जनसम्पर्क अधिकारी अविशेक गौतमले जानकारी दिए।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *