प्रथम कोशी खेलकुद महोत्सव २०८१ लाई विवादमा पार्ने प्रयास असफल : सदस्य सचिव बस्नेत
विराटनगर/ कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले खेलकुद क्षेत्रमा अराजकता मच्याउने तत्वहरूले प्रथम कोशी खेलकुद महोत्सव २०८१ लाई विवादमा पार्ने प्रयास गरेको आरोप लगाएका छन्।
विराटनगरस्थित दिल्ली पब्लिक स्कूलको मैदानमा आयोजित कोशी प्रदेशस्तरीय कराँते प्रतियोगिता को उद्घाटन गर्दै बस्नेतले खेल क्षेत्रमा दादागिरी गर्ने र अनुशासन भंग गर्नेहरूले नियोजित रूपमा महोत्सवलाई बदनाम गर्न खोजेको बताए। उनले नेपाल कराँते महासंघको विधानअनुसार जिल्ला कमिटीको औपचारिक मान्यता नभएको स्पष्ट पार्दै, आफैंले जिल्ला संघ घोषणा गर्दै पत्राचार गरेर बोर्ड वा जिल्ला खेलकुद विकास समितिबाट मान्यता नपाउने बताए।
सदस्य सचिव बस्नेतले खेलकुदमा अराजकता मच्याउनेहरूलाई कानुनी उपचारका लागि प्रदेश सरकारका उच्च अधिकारीहरूसँग छलफल भइरहेको जानकारी गराए।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य भीम पराजुली ले खेलकुद समाज सुधारको माध्यम भएको उल्लेख गर्दै, महोत्सवको सफलताका लागि आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।
कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडीहरूको सहभागिता रहेको कराँते प्रतियोगिता कोशी खेलकुद महोत्सवको एक हिस्सा हो, जसले प्रदेशभरका खेलाडीहरूलाई प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरिरहेको छ।