विकासमा दलित महिलाको मूलप्रवाहीकरण विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

विराटनगर/ दलित महिला सशक्तिकरण तथा समावेशीकरणका सवाललाई जोड दिँदै दलित महिलाको विकासका लागि विराटनगरमा बिहीबार प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा दलित महिलाको मूलप्रवाहीकरण विषयमा विभिन्न सरोकारवालाबीच छलफल गरिएको थियो।

दलित महिला संघ (फेडो) कोशी प्रदेशद्वारा आयोजित कार्यक्रममा प्रदेश सरकारका विभिन्न मन्त्रालयका लैंगिक सम्पर्क बिन्दु, राष्ट्रिय योजना आयोग, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रतिनिधि, मानव अधिकार आयोग, प्रहरी प्रशासन, बार एसोसिएसन, तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले गर्नुभएको थियो। सहभागीहरूले दलित महिला सशक्तिकरणका लागि नीति, कार्यक्रम र बजेटमा समावेशीकरणको आवश्यकताबारे आफ्ना धारणा राखेका थिए। उनीहरूले दलित समुदाय, विशेष गरी मधेसी दलित महिलाको सामाजिक, आर्थिक, राजनीतिक सशक्तिकरणलाई सुनिश्चित गर्न राज्यको प्रभावकारी हस्तक्षेप आवश्यक रहेको उल्लेख गरे।

फेडो कोशी प्रदेशका अध्यक्ष पान्डु परियारका अनुसार कार्यक्रमले दलित महिलाको सवाललाई नीति निर्माण तहमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। कार्यक्रमका संयोजक तारा बहादुर आउजीले राज्यका नीति तथा योजनामा दलित महिलाको आवाज समावेश गराउन यस्ता अन्तरक्रियाहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा उपस्थित सरोकारवालाहरूले दलित महिला सशक्तिकरणलाई संस्थागत रूपमा अघि बढाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालेका छन्।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *