ग्रीन पीस एकेडेमीको वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

सरिता कर्मकार ,

विराटनगर/ विराटनगर वडा नं. ६ स्थित ग्रीन पीस एकेडेमीले आफ्नो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमलाई विशेष आकर्षक बनाउन विद्यार्थीहरूले इनोभेटिभ साइन्स एक्जिबिसन र स्टेज शो प्रस्तुत गरेका थिए।

विद्यालयले कक्षा १० सम्मको पठनपाठन सञ्चालन गर्दै आएको छ। यस अवसरमा विद्यार्थीहरूले विभिन्न वैज्ञानिक परियोजनाहरू प्रदर्शन गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरे। कार्यक्रममा २८ वटा इनोभेटिभ साइन्स एक्जिबिसन स्टलहरू राखिएको थियो, जसमा विभिन्न कक्षाका विद्यार्थीहरूले टिम बनाएर सिर्जनशील वैज्ञानिक सामग्रीहरू प्रस्तुत गरे।

कक्षा ५ का विद्यार्थी अनास आलमले आफ्नो टोलीका चार सदस्यसहित “वाटर साइकल फाउन्टेन प्रोजेक्ट” निर्माण गरेका थिए। उक्त परियोजनामार्फत उनीहरूले वाष्पीकरण (evaporation) प्रक्रियाले नदी र समुद्रबाट पानी उठाएर कसरी वर्षाका रूपमा पुनः जमिनमा फर्किन्छ भन्ने कुरा व्याख्या गरे।

विद्यालयका प्रधानाध्यापक एमडी हासिमका अनुसार, यस्ता प्रदर्शनीहरू विद्यार्थीहरूलाई विज्ञान र प्रविधिप्रति रुचि बढाउन तथा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्न महत्वपूर्ण छन्। साथै, स्टेज शोहरू विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्न र सार्वजनिक रूपमा आफूलाई प्रस्तुत गर्न सिकाउने माध्यम भएको उनले बताए।

ग्रीन पीस एकेडेमीका विद्यार्थीहरू जिल्ला स्तरका विभिन्न खेलकुद प्रतियोगितामा समेत सहभागी हुँदै उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूलाई विशेष प्राथमिकता दिँदै आएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *