विराटनगरमा १२ विद्यालयबीच हाजिरजवाफ प्रतियोगिता हुँदै

बिराटनगर / लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले फागुन १६ गते मोरङ र सुनसरीका १२ विद्यालयबीच हाजिरजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ। मंगलबार क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो।

प्रतियोगितामा सामुदायिक २ र निजी १० विद्यालयको सहभागिता रहनेछ। सहभागी विद्यालयहरूमा शिक्षादीप, महेन्द्र, बिकेबिएम, अरनिको, सत्यनारायण, अर्किड (ए र बी), पोखरिया, ग्रीनल्याण्ड, मेरिल्यान्ड, दिल्ली पब्लिक, र कान्तिपुर कलेज रहेका छन्।

लियो क्लबका अध्यक्ष आर्यन बास्कोटाका अनुसार हाल हाजिरजवाफ प्रतियोगिताजस्ता कार्यक्रम हराउँदै गइरहेको अवस्थामा विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्न यो कार्यक्रम आयोजना गरिएको हो। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने बताएका छन्।

प्रतियोगितामा सहभागी विद्यालयले तीन हजार रूपैयाँ शुल्क तिर्नुपर्नेछ। प्रथम स्थान हासिल गर्ने टिमले १६ हजार १ सय नगद, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ। द्वितीय स्थान प्राप्त गर्ने टिमले ११ हजार १ सय नगद र तृतीय स्थान प्राप्त गर्ने टिमले ५ हजार १ सय नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिता फागुन १६ गते बिहान ८ बजे सुरु हुनेछ। यद्यपि, कार्यक्रम सञ्चालन हुने स्थान भने आयोजकले अझै निर्धारण गरेको छैन। लियो क्लबले यस प्रतियोगितामार्फत विद्यार्थीहरूलाई ज्ञान र प्रतियोगितात्मक क्षमतामा निखार ल्याउने अवसर प्रदान गर्ने विश्वास व्यक्तगरेको छ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *