गोल्डेन हस्पिटलले १४ औं वर्षमा प्रवेश गर्दै: अत्याधुनिक सेवासहित नयाँ उचाइको लक्ष्य
विराटनगर/ विराटनगरको गोल्डेन हस्पिटल प्रा.लि.ले आफ्नो १३ औं वर्ष पार गर्दै १४ औं वर्षमा प्रवेश गरेको छ। स्थापना कालदेखि नै स्वास्थ्य सेवामा उत्कृष्टता कायम गर्दै आएको यो अस्पतालले हाल आफ्नै भवनबाट सेवा विस्तार गरिरहेको छ।
पहिले विराटनगर-७, हस्पिटल चोकबाट सञ्चालन हुँदै आएको गोल्डेन हस्पिटल अब विराटनगर-११, जनपथ टोलस्थित आफ्नै सुविधायुक्त भवनबाट सेवा प्रदान गरिरहेको छ। १०० शैयाको यो अस्पतालले नयाँ प्रविधिहरू समावेश गर्दै स्वास्थ्य सेवामा नयाँ युगको सुरुवात गरेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) एकीकृत १९२ स्लाइस सिटी स्क्यान, एमआरआई, मोड्युलर ओटी, एडभान्स आईसीयू, एनआईसीयू, र एचओसीयू जस्ता अत्याधुनिक उपकरणमार्फत अस्पतालले उच्चस्तरीय सेवा सुनिश्चित गरिरहेको छ।
गोल्डेन हस्पिटलले कोशी प्रदेशका बिरामीहरू मात्र होइन, छिमेकी मुलुक भारतका बिहार, उत्तर प्रदेश, र पश्चिम बंगालका बिरामीहरूको पनि उपचारमा विशेष योगदान पुर्याइरहेको छ। नेपालकै उत्कृष्ट सुपर स्पेसियालिटी टिमसहित यो अस्पताल न्यूरो, ट्रमा, र आरए म्यानेजमेन्टजस्ता जटिल रोगहरूको उपचारमा ख्याति कमाउन सफल भएको छ।
स्वास्थ्य सेवामात्र नभई गोल्डेन हस्पिटलले चिकित्सा शिक्षा क्षेत्रमा पनि कदम चालेको छ। अस्पतालले २०८१ साल मंसिरदेखि सिटिइभिटिको सम्बन्धन लिएर डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ, र पिसिएल जनरल मेडिसिनका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ।
वार्षिकोत्सवको अवसरमा अस्पतालका सञ्चालक डा. श्याम रौनियारले अस्पताललाई भाडाको घरबाट आफ्नै भवनसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उनले आगामी दिनमा नेपालकै उत्कृष्ट अस्पताल बनाउने लक्ष्यसहित सेवा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “बिरामीहरूको माया र विश्वास नै हाम्रो प्रेरणा हो। नयाँ भवन र अत्याधुनिक उपकरणहरूसँगै हामी अझ उत्कृष्ट सेवा दिनेछौं।”
गोल्डेन हस्पिटलले न्यूनतम शुल्कमा आकस्मिक सेवा, अपरेशन, र अन्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ। प्रदेशकै उत्कृष्ट भवन, उपकरण, र दक्ष चिकित्सकहरूको टोलीसहित अस्पतालले भविष्यमा पनि गुणस्तरीय सेवा तथा नवीनतम प्रविधिको उपयोग गर्दै नयाँ उचाइ हासिल गर्ने लक्ष्य राखेको छ।