सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसर सिर्जना हुन्छ ः मेयर कोइराला
विराटनगर / ७४ औं वार्षिकोत्सवका अवसर पारेर विराटनगर–१६ स्थित मिल्स माविले उत्कृष्ट शिक्षक र विद्यार्थीहरूलाई सम्मानित गरेको छ ।
बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा स्वर्गीय योगप्रसाद उपाध्याय स्मृति उत्कृष्ट शिक्षक पुरस्कार शिक्षिका इन्दिरा गुरागाईंलाई प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नगद ११ हजार १ सय रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
समाजसेवी प्रकाश दाहालले विद्यालयको वार्षिकोत्सवका अवसरमा हरेक वर्ष उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने गरी सो पुरस्कार स्थापना गर्नुभएको हो ।
सोही अवसरमा शिक्षकहरू सुधीर यादव, ओमप्रकाश राजवंशीलगायत चारजनालाई उत्कृष्ट शिक्षक सम्मानबाट सम्मानित गरिएको थियो । मेयर कोइरालासहित महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १६ का अध्यक्ष उद्धव भुलेज, विद्यालयका प्रधानाध्यापक विन्दुकुमार लावतीलगायतले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । त्यस्तै कक्षा ७ मा अध्ययनरत युनिशा कार्कीसहित एक दर्जन उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरू सिर्जना हुनसक्ने बताउनुभयो । विद्यालयदेखि नै विद्यार्थीले सीपमूलक र रोजगारमूलक शिक्षा प्राप्त गरेमा उत्पादित जनशक्तिले विदेश गएर पनि राम्रो कमाइ गर्न सक्ने उहाँको भनाइ थियो । ‘अहिले दैनिक २ हजारभन्दा बढी युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । सीप नसिकी जाँदा उनीहरूले भनेजस्तो कमाइ गर्न सकेका छैनन्,’ मेयर कोइरालाले थप्नुभयो, ‘सीपमूलक शिक्षा दिन सकेमा स्वदेशमै पनि स्वरोजगार हुन सक्छन् । अहिलेको जमाना भनेको विश्वविद्यालयको सर्टिफिकेटले मात्रै रोजगारी प्राप्त गर्ने अवस्था छैन । हातमा कुनै न कुनै सीप हुनै पर्दछ । विद्यालय तह पार गर्दा होस् वा विश्वविद्यालय पार गर्दा होस् विद्यार्थीमा सम्बन्धित विषयमा प्रर्याप्त दक्षतासँगै सीप भएमा सहजै रोजगारी प्राप्त गर्न सक्ने अवस्था रहन्छ । नत्र भने सर्टिफिकेट बोकेर रोजगारीको खोजीमा भौतारिनुपर्ने अवस्था आउँछ ।’
विराटनगर महानगरपालिकाले सबै सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा ध्यान दिएको उहाँले प्रस्ट पार्नुभयो । पछिल्लो समय अधिकांश सामुदायिक विद्यालयको गुणस्तरमा सुधार हुँदै गएको चर्चा गर्दै मेयर कोइरालाले भन्नुभयो, ‘महानगरले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध कार्य गरिरहेको छ । महानगरको उद्देश्यअनुरुप मिल्स माविले पनि निकै प्रगति गरेको छ ।’ मेयर कोइरालाले गुणस्तर वृद्धिका लागि सामुदायिक विद्यालयहरू बीच प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभयो । हरेक विद्यालयले प्रविधिमैत्री शिक्षा लागू गर्नु जरुरी रहेको मेयर कोइरालाले औंल्याउनुभयो ।
२००७ सालमा स्थापित मिल्समा हाल नर्सरी, केजी, कक्षा १, २, ६ र ७ मा अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ । कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ पढाइ भइरहेको प्रअ विन्दुकुमार लावतीले जानकारी दिनुभयो । पढ्दै पढाउँदै कमाउँदै कार्यक्रमलाई विद्यालयले लागू गरेको प्रअ लावतीको भनाइ थियो । उहाँका अनुसार पढ्दै पढाउँदै कमाउँदै कार्यक्रमअन्तर्गत शिक्षक विद्यार्थी मिलेर कम्प्युटर, ल्यापटप, मोबाइल मर्मत केन्द्र सञ्चालन गरिएको छ । साथै छतमा ड्रागन खेती र विद्यालयको खाली जग्गामा केरा खेती पनि सुरु गरेको छ ।
विद्यालयले केही वर्षयता निकै प्रगति गरेको व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष उद्धव भुजेलले बताउनुभयो । मिल्स माविलाई दक्षिणी क्षेत्रको मात्रै नभएर विराटनगरकै उत्कृष्ट विद्यालय बनाउने उद्देश्यअनुसार अगाडि बढिरहेको भुजेलको भनाइ थियो ।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीले विज्ञान, प्रविधि, कला र स्वास्थ्य प्रदर्शनी राखेको थियो । त्यस्तै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए । विद्यालयमा १ हजार १४६ जना विद्यार्थी अध्ययनरत छन् भने ५३ शिक्षक–कर्मचारी कार्यरत छन् ।