केआइआइटी विश्वविद्यालयमा नेपाली छात्राको हत्या प्रकरण: ७५ विद्यार्थी नेपाल फर्किए
विराटनगर/ ओडिशास्थित केआइआइटी (KIIT) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको हत्या प्रकरणपछि त्यहाँ अध्ययनरत ७५ जना विद्यार्थी नेपाल फर्किएका छन्।
बुटवलकी २० वर्षीया लम्साल आइतबार साँझ मृत फेला परेकी थिइन्। उनले आफूलाई एक विद्यार्थीले मानसिक यातना दिइरहेको भन्दै विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा दुई पटक निवेदन दिएकी थिइन्। तर, विश्वविद्यालय प्रशासनले कुनै गम्भीरता नदेखाएको विद्यार्थीहरूको आरोप छ।
लम्सालको हत्या भएको भन्दै विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए। तर, विश्वविद्यालय प्रशासनले सुरक्षा गार्ड र बाउन्सर परिचालन गरी नेपाली विद्यार्थीमाथि कुटपिट गरेको विद्यार्थीहरूले बताएका छन्।
घटनापछि मोरङ विराटनगरस्थित जोगबनी नाका हुँदै ७५ जना नेपाली विद्यार्थी नेपाल फर्किएका छन्। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार फर्किने विद्यार्थीमध्ये ३६ जना मोरङका, १६ जना सप्तरीका, ११ जना सुनसरीका, ३ जना काठमाडौंका, ३ जना सिरहाका, २ जना सर्लाहीका, २ जना जनकपुरका, १ जना ललितपुरका र १ जना उदयपुरका रहेका छन्।
यस घटनापछि विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कलेज छाड्न आदेश दिएको थियो। तर, विद्यार्थी विरोधपछि उक्त आदेश फिर्ता लिइएको छ।
विद्यार्थीहरू र अभिभावकहरूले लम्सालको मृत्युको निष्पक्ष छानबिन गर्दै दोषीलाई कारबाही गर्न भारतीय र नेपाली सरकारसँग माग गरेका छन्।