विराट गोल्ड कपलाई नाफामा लैजान दर्शकको उपस्थिति अपरिहार्य – संयोजक रिजाल
विराटनगर/ विराट गोल्ड कप फुटबल प्रतियोगिता आयोजक समितिका संयोजक नविन रिजालले प्रतियोगितालाई नाफामा लैजान दर्शकहरूको उपस्थिति अनिवार्य रहेको बताएका छन्। लगातार दुई संस्करणदेखि घाटामा रहेको प्रतियोगिता पुनः नाफामा ल्याउन आवश्यक रणनीति अपनाइने उनले बताएका छन्।
यसअघि, विराटनगर महानगरपालिकाले आयोजना गरेको ७औं संस्करण र विराट गोल्ड कप फुटबल ट्रष्टले आयोजना गरेको ८औं संस्करण घाटामा गएको थियो। कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले आवश्यक सहयोग उपलब्ध नगराउँदा आर्थिक संकट झेल्नुपरेको ट्रष्टका पदाधिकारीहरूको भनाइ छ।
आगामी फागुन १९ गतेदेखि विराटनगरको सहिद रंगशालामा सुरु हुने ९औं संस्करणका लागि संयोजक रिजालले विशेष अफरहरू घोषणा गरेका छन्। २०० रुपैयाँको टिकट काट्ने दर्शकले ४५ मिनेटको सांस्कृतिक कार्यक्रम र त्यसपछि फुटबल खेल हेर्न पाउनेछन्। त्यस्तै, १५ हजार रुपैयाँ पर्ने भिआइपी टिकट ५ हजार रुपैयाँमा उपलब्ध गराइनेछ भने सबै खेल हेर्न मिल्ने सिजनल टिकट १७०० रुपैयाँमा बिक्री गरिनेछ।
नेपालका ८ र भारतका २ गरी १० टिम सहभागी हुने यस प्रतियोगितामा विजेताले ११ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता फागुन २८ गते सम्पन्न हुनेछ।
पत्रकार सम्मेलनमा विराट गोल्ड कप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, संघीय सांसद अमनलाल मोदी, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।