नेकपा माओवादी केन्द्रले २०८४ को निर्वाचनलाई लक्षित गरी जनजागरण अभियान सुरू गर्ने

झापा/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी २०८४ सालको संसदीय निर्वाचनमा २०६४ सालको चुनावी नतिजा दोहोर्‍याउने लक्ष्यसहित ‘माओवादी तराई-मधेस जनजागरण अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ।

पार्टीको कोशी प्रदेश समिति बैठकपछि केन्द्रीय उपमहासचिव एवं प्रदेश इन्चार्ज हरिबोल गजुरेलले जनयुद्धपछिको पहिलो संविधान सभा निर्वाचनमा जस्तै परिणाम ल्याउने गरी पार्टी अघि बढ्ने बताएका छन्। उनले पार्टीलाई सशक्त क्रान्तिकारी रूप दिन पार्टी छोडेर गएका पुराना नेता-कार्यकर्तालाई पुनः फर्काउने निर्णय समेत भएको जानकारी दिए।

२०६४ सालको संविधान सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रले प्रत्यक्ष तर्फ १२२ र समानुपातिक तर्फ गरी कुल २३८ सिट जितेको थियो। त्यतिबेला झापाबाट नेकपा एमालेका केपी शर्मा ओली, नेपाली कांग्रेसका कृष्ण सिटौला, मोरङबाट एमालेका भरतमोहन अधिकारी पराजित भएका थिए।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) लगायतका नेताहरूको उपस्थिति रहेको बैठकले आगामी निर्वाचनलाई ध्यानमा राखी फागुन १२ गतेदेखि झापाको कचनकबल बनियानीबाट ‘मेची-महाकाली जनजागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।

अभियान अन्तर्गत सुनसरी, मोरङ र झापाबाट मात्रै करिब ५ हजार नेता-कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने लक्ष्य लिइएको प्रदेश अध्यक्ष नेम्वाङले जानकारी दिए। अभियान फागुन महिना भर चल्ने छ।

नेकपा माओवादी केन्द्रले यो अभियानलाई पार्टी पुनर्गठनको अवसरका रूपमा लिएको छ। जनतामाझ पुनः स्थापित हुन, पुराना कार्यकर्तालाई फर्काउन र आगामी निर्वाचनमा २०६४ सालको जस्तै नतिजा ल्याउन अभियान प्रभावकारी बनाइने गजुरेलले बताए।

अभियान अन्तर्गत पार्टीले विभिन्न जिल्लामा भेला, गोष्ठी, प्रशिक्षण र जनसंपर्क कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *