कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगर दोस्रो
विराटनगर/ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरतर्फ विराटनगर महानगरपालिका दोस्रो भएको छ ।
६ वटा महानगरपालिकामध्ये विराटनगरले ७३ दशमलव ५ प्रतिशत अंकका साथ दोस्रो भएको हो । आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङ्कन गर्छ । ती सूचकहरूमध्ये पालिकाले समयमै सभामा बजेट पेश गरे÷नगरेको, पारित गरे÷नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे÷नगरेको, राजस्वको विभाजन गरे÷नगरेकोलगायत पर्छन् । आयोगका अनुसार भरतपुर महानगरले ७६ दशमलव २ प्रतिशत अंक ल्याएर पहिलो हुँदा वीरगञ्ज महानगरले ४३ दशमलव १ प्रतिशत अंक प्राप्त गरेर छैटौं अर्थात् अन्तिम भएको छ । तेस्रो हुने ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत, चौथो हुने काठमाडौं महानगरले ५४ दशमलव ३ प्रतिशत र पाँचौं हुने पोखरा महानगरले ५१ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेका छन् । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तेस्रो वर्षसम्म पहिलो भएको हो ।
कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर दोस्रो हुनुले महानगरका लागि खुसी र गौरवको क्षण भएको मेयर नागेश कोइरालाले प्रतिक्रिया दिनुभयो । विराटनगरभन्दा स्रोत साधनले अब्बल महानगरहरुलाई उछिन्नु नै खुसीको क्षण भएको उहाँको भनाइ थियो । ‘यस अवसरमा सम्पूर्ण जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, महाशाखा तथा शाखा प्रमुख, कर्मचारी, पत्रकार, नागरिक समाजसहित विराटनगरबासीमा हार्दिक धन्यवादसहित बधाई ज्ञापन गर्दछु,’ मेयर कोइरालाले भन्नुभयो, ‘अबको लक्ष्य पहिलो हुने हो ।
त्यसका लागि आजैदेखि सबैले आ–आफ्नो स्थानबाट काम गरौं भन्ने आग्रह पनि गर्दछु ।’ विराटनगर महानगर बेरुजु फछ्र्यौटमा पनि उत्कृष्ट हुँदै गएको छ । गत आर्थिक वर्ष मोरङका १७ पालिकामध्ये सबैभन्दा कम बेरुजु कामय भएको महानगर भएको थियो ।