उद्योगी नविन रिजाललाई विराट गोल्डकप फुटबल प्रतियोगिताको संयोजकको जिम्मेवारी

विराटनगर/ विराट गोल्डकप फुटबल प्रतियोगिता २०८१ को आयोजना गर्ने जिम्मेवारी उद्योगी नविन रिजाल लाई प्रदान गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रहेका रिजाललाई विराट गोल्डकप फुटबल ट्रष्ट ले संयोजकको रूपमा चयन गरेको हो।

फागुन १९ देखि २८ गतेसम्म विराटनगरको शहीद रंगशालामा हुने प्रतियोगिता फ्लडलाइटमा दिवा-रात्रिकालीन खेलका रूपमा सञ्चालन गरिनेछ। प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही सहितका पदाधिकारीहरूले मोरङ उद्योग व्यापार संघमा पुगेर नविन रिजाललाई संयोजक नियुक्त गरिएको पत्र हस्तान्तरण गरेका थिए।

छोटो समयमा उत्कृष्ट तयारी

संयोजक नविन रिजालले २६ दिनको छोटो समयमा प्रतियोगिता सम्पन्न गर्नुपर्ने भए पनि भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसअघि मोरङ उद्योग व्यापार संघको महासचिव रहँदा पनि उनले पहिलोपटक विराटनगरमा फ्लडलाइट जडान गरी दिवा-रात्रिकालीन खेल आयोजना गराएका थिए।

अघिल्लो वर्ष कोशी प्रदेश सरकारको २५ लाख र राष्ट्रिय खेलकुद परिषद्को ५ लाख रुपैयाँ प्राप्त नभएकाले प्रतियोगिता आयोजनामा २२ लाख ६५ हजार रुपैयाँ घाटा भएको थियो। यसपटक उद्योगी तथा ट्रष्टी नविन रिजालको संयोजनमा सबल व्यवस्थापन र उत्कृष्ट आयोजना गर्ने लक्ष्य राखिएको छ।

विराट गोल्डकप फुटबल प्रतियोगिता विराटनगरको पहिचानसँग जोडिएको पुरानो तथा ऐतिहासिक खेलकुद प्रतियोगिता हो। रिजालको नेतृत्वमा यसपटकको संस्करण झन् भव्य हुने विश्वास गरिएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *