‘नर सेवा नारायण सेवा’ संस्थाद्वारा १५ महिना देखि कोशी अञ्चल अस्पतालमा निःशुल्क भोजन वितरण
विराटनगर/ विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा ‘नर सेवा नारायण सेवा’ संस्थाले निःशुल्क खाना खुवाउने अभियान सफलतापूर्वक १५ महिना पुरा गरेको छ। अस्पतालका मेसु रुना झा र अन्य डाक्टरहरूले आज बिहान भोजन वितरण स्थलको निरीक्षण गरेका छन्। निःशुल्क भोजन व्यवस्थाबाट अस्पतालका बिरामी तथा कुरुवाहरू लाभान्वित हुँदै आएकोमा अस्पताल प्रशासनले खुसी व्यक्त गरेको छ।
संस्थाका सदस्य देवकी नन्दन अग्रवालका अनुसार, जाडो याममा बिहान ७ बजे २००-३०० जना बिरामी तथा कुरुवालाई चिया र बिस्कुट खुवाउने र ११ बजे करिब २६०-२७० जनालाई निःशुल्क भोजन वितरण गर्ने कार्य संस्थाले गर्दै आएको छ। संस्थाले मानव सेवामा समर्पित भएर आफ्नो कार्य अगाडि बढाएको र यसमा बिराटनगरको समाजले भरपूर साथ र सहयोग प्रदान गरिरहेको जानकारी पनि उनले दिए।विशेष अवसरहरूमा फलफूल वितरण गर्ने र आगामी दिनमा सेवा विस्तारका लागि नयाँ योजना ल्याउने तयारी रहेको बताए।
संस्थाका अध्यक्ष पृथ्वी कुमार अग्रवालले मुख्य उद्देश्य मानव सेवा रहेको बताए। पछिल्लो वर्ष संस्थाले ईमरजेन्सी वार्डमा रहेका गरिब तथा विपन्न बिरामीहरूका लागि ४० थान कम्बल वितरण गरेर थप राहत पुर्याएको थियो।
खाना वितरण स्थलमा सरसफाइको कमी हुने भएकाले अस्पताल प्रशासनलाई सरसफाइमा ध्यान दिन संस्थाले अनुरोध गरेको छ। अस्पताल प्रशासनले पनि संस्थासँग सहकार्य गर्न सधैं तत्पर रहेको जानकारी गराएको छ।