विराटनगरको सरसफाई अभियानमा अग्रवाल सभाको सक्रियता: महानगरलाई सरसफाई मोबाइल एम्बुलेन्स रिक्सा हस्तान्तरण

विराटनगर / विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउन सामाजिक संस्थाहरुले समेत चासो देखाउन थालेका छन् ।

पछिल्लो समय विराटनगर धेरै नै सफा र सुन्दर देखिएको बताउँदै नेपाल अग्रवाल सभा विराटनगरले महानगरलाई दुई थान रिक्सा हस्तान्तरण गरेको छ । सरसफाई अभियानलाई अझै प्रभावकारी बनाउन महानगरलाई रिक्सा हस्तान्तरण गरेको सभाले जनाएको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा सभाका अध्यक्ष राजकुमार अग्रवालले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई रिक्सा हस्तान्तरण गर्नुभयो ।

मेयर कोइराला, उपमेयर कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, महानगरको वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजकसमेत रहेका ३ नम्बर वडाका अध्यक्ष वासुबहादुर बस्नेत, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, अग्रवाल सभाका पूर्वअध्यक्ष अभिषेक तोदी, देवकीनन्दन अग्रवाल, लक्ष्मण नेवटियालगायतको उपस्थितिमा सभाका अध्यक्ष अग्रवालले महानगरलाई रिक्सा हस्तान्तरण गर्नुभएको हो ।

सो रिक्सालाई सरसफाई मोबाइल एम्बुलेन्सका रुपमा प्रयोग गरिनेछ । अबदेखि मुख्य बजार क्षेत्रको फोहोर दिनभरि उठाइनेछ । यसअघि बिहान मात्रै फोहोर उठाउने गरिएको थियो । मेयर कोइरालाले विराटनगरको सरसफाईमा विराटनगरवासीले समेत अपनत्व लिन थालेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले सबैको साथ र सहयोगले विराटनगरलाई सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित महानगर बनाउन सकिने धारणा राख्नुभयो । विराटनगरको सामाजिक क्षेत्रमा अग्रवाज सभाको निकै महत्वपूर्ण भूमिका रहेको औंल्याउँदै मेयर कोइरालाले आगामी दिनमा पनि सहयोग जारी राख्न आग्रह गर्नुभयो ।

सरसफाई शाखाका प्रमुख पुनमकुमार दाहालका अनुसार रिक्साले फोहोरसँगै सडकमा मृत भेटिएका पशुपंक्षीसमेत उठाउनेछ । यसअघि कसैले फोन गरेको एक घण्टाभित्र मृत पशुपंक्षी उठाउने गरिएकोमा अब बढीमा आधा घण्टामा उठाउने लक्ष्य राखिएको दाहालले सुनाउनुभयो । बजार क्षेत्रमा सो रिक्सा सरसफाई मोबाइल एम्बुलेन्सका रुपमा बिहानदेखि रातिसम्म परिचालन गरिनेछ । जहाँ फोहोर हुन्छ त्यसलाई तत्कालै उठाएर व्यवस्थापन गरिने दाहालले बताउनुभयो । त्यस्तै सो रिक्सामा सचेतनामूलक सूचना रेकर्ड गरेर बजाउने व्यवस्था मिलाइएको छ । रिक्सामा माइक पनि जडान गरिएको छ । जसबाट माइकिङ गर्न सकिनेछ ।

सभाका अध्यक्ष राजकुमार अग्रवालले महानगरले सरसफाईलाई प्रभावकारी बनाए हरेक वडालाई पुग्ने गरी थप मोबाइल रिक्सा उपलब्ध गराउने प्रतिबद्धता जनाए । अग्रवाल सभाले उपलब्ध गराएको रिक्सा सोही कार्यक्रममा उत्तरी क्षेत्रको फोहोर व्यवस्थापनको साझेदार संस्था नेपाल फूलबारीका प्रमुख उमेश कटवाल र मध्यक्षेत्रको साझेदार संंस्था स्वास्थ्य तथा सरसफाईका लागि वातावरण नेपालका अध्यक्ष कृष्ण तिम्सिनालाई महानगरको वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक वासुबहादुर बस्नेत, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल र सरसफाई शाखाका प्रमुख पुनमकुमार दाहालले हस्तान्तरण गर्नुभएको थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *